–बबिलाल तामाङ
नारायणगढ । सवारी दुर्घटनामा मेरूदण्ड भाँचिएपछि माडीका ४३ वर्षीय गोपाल गुरूङले उपचारमा करिब २५ लाख रूपैयाँ खर्च गरे । पाउने ठाउँसम्म ऋणधन गरेर पनि उपचार गराए। नेपालमा सम्भव नभएपछि थप उपचारको लागि भारतसम्म पुग्नु पर्यो। २०७९ फागुनमा मोटरसाइकल दुर्घटनामा परेका उनले ९ महिनासम्म नेपालकै विभिन्न अस्पताल चाहारे । तर, नेपालमा सम्भव नभएपछि थप उपचार खोज्दै भारत पुगेका उनको दुर्घटना भएको एक वर्षपछि गत फागुनमा बल्ल शल्यक्रिया भयो ।
करिब १८ वर्षदेखि गाडी चलाउने पेसा अपनाइरहेका गोपाल आफैँले चलाउने गाडीको बीमा नवीकरण गर्न पैसा जोहो गर्दै थिए । सोही क्रममा मोटरसाइकल दुर्घटनामा परेका उनले उपचारमा लाखौँ रूपैयाँ सकाए पनि उपचार भने अझै पूरा भएन । चिकित्सकका अनुसार गोपालले कम्तिमा पनि तीन वर्ष उपचारमा समय बिताउनु पर्ने छ ।
तर, ऋणधन गरेको पैसासमेत सकिएपछि गत असारमै अस्पताल पुग्नुपर्ने उनी यतिबेला उपचार थाती राखेर घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । ‘अप्रेसनपछि फलोअपको लागि बोलाएको त गत असार अन्तिम साता नै हो । तर, अस्पतालसम्म पुग्ने पैसा नहुँदा दुई महिना नाघिसक्दासमेत जान सकेको छैन,’ उनले भने ।
उपचार गर्ने रकम अभाव भएपछि गोपालको परिवारले सार्वजनिकरूपमै सहयोगको याचना गरेको छ। ‘ऋण गरेको ठाउँमा पनि तिर्न नसकेपछि दोहो¥याएर माग्दा दिँदैनन्, ‘श्रमती तुलसीले भनिन्, ‘केही बेचेर खर्च टारम् भने पनि आफूसँग केही छैन ।’ तुलसीलाई अरू चिन्ता छैन । श्रीमानको उपचार गर्न पाए भन्ने मात्रै छ । तर, उनलाई घर धान्ने कि श्रीमानको उपचार गर्ने भन्ने दोहोरो व्यवहारले थिचेको छ ।
अर्कोतिर दुई छोरीहरूको पढाइ खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । ‘मेरो श्रीमानको उपचारमात्रै गर्न पाए अरू कुराको व्यवस्थापन त ढिलोचाँडो जसरी भए पनि गर्थेँ,’ उनी भन्छिन्, ‘अहिलेलाई मेरो लागि सबैभन्दा ठूलो चुनौती भनेकै श्रीमानको उपचार खर्च जुटाउने हो ।’
तुलसीले गोपालको उपचारको लागि ९ महिनासम्म भरतपुरको सरकारी अस्पताल, पुरानो मेडिकल कलेज, काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर हुँदै पाल्पाको मिसनलगायतका अस्पताल पुर्याइन् । तर, सम्भव नभएपछि चिकित्सकहरूकै सुझावअनुसार भारत लगेकी हुन् । श्रीमान् दुर्घटनामा परेपछि घरको कमाउने स्रोत नै बन्द भएको उनले बताइन् ।
‘श्रीमानकै भरमा परिवार चलेको थियो । तर, आफैँ ओच्छ्यान परेपछि आयस्रोतको बाटो नै बन्द भयो,’ उनले भनिन्, ‘ओच्छ्यान परेको श्रीमान् छाडेर काम गर्न जान सक्ने अवस्था पनि छैन ।’ कम्तिमा श्रीमानलाई आफ्नो काम आफैँ गर्न सक्ने बनाउन पाए बाहिरी काममा आफैँ जुट्ने हिम्मतमा छिन् उनी । ‘श्रीमानले अहिलेसम्म हाम्रै लागि दुःख गर्नुभएको हो। कम्तिमा उहाँलाई आफ्नो काममा अरूको सहारा नचाहिनेसम्म बनाउन सके म आफैँ दुःख गरेर परिवार चलाउँथेँ,’ उनले भनिन् ।
श्रीमानको उपचारमा जुट्दाजुट्दै कोठाभाडा खप्टिँदै गएको डेढ वर्ष भइसकेको उनले बताइन् । ‘श्रीमानलाई राम्रो बनाउन पाए पछि कमाएरै भए पनि तिरिएला भन्ने छ,’ उनी भन्छिन्, ‘खानाको लागि दायाँबायाँबाट जोहो भइरहेको छ । तर, समस्या उपचार खर्च जुटाउनेमै छ ।’
अहिले पनि गोपालको उपचारमा दैनिक एक हजार रूपैयाँको दरले खर्च भइरहेको छ । ‘वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अकुपङ्चर र पुष्पाञ्जली अस्पतालमा फिजियोथेरापी गराइरहेकी छु,’ उनी भन्छिन्, ‘त्यतिको लागि दैनिक हजार रूपैयाँ खर्च हुँदै आएको छ ।’
श्रीमानको उपचार खर्च जुटाउन तुलसीले सकेसम्मका व्यक्ति तथा संघसंस्थालाई गुहारिसकेकी छन् । ‘कति संघसंस्थाहरूमा गएर भनेको छु । तर, कहीँबाट पनि सकारात्मक प्रतिकृया आएको छैन,’ उनले भनिन्, ‘दुःखीलाई त भगवानले पनि हेप्दो रहेछ भन्ने लाग्न थालेको छ ।’
आफूले अपेक्षा राखेको व्यक्ति र संघसंस्थाबाटै निराश हुनु परेको गुनासो गरिन् । दिल्ली जानको लागि एक पटकमा कम्तिमा पनि ५० हजार रूपैयाँ खर्च हुने उनको अनुमान छ । ‘हिजो सकुञ्जेल लाखौँ रूपैयाँ पनि जुटाएर उपचार गरियो । तर, आज सबैतिर बाटो बन्द भएपछि त्यही ५० हजार रूपैयाँ जुटाउन पनि नसक्ने अवस्थामा आइपुगेकी छु,’ उनले भनिन् ।
तुलसीले उपचारमा सहयोग गर्न चाहनेहरूका लागि भाइ पशुपति श्रेष्ठको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १६२०१००५५३९८८०१० मा रकम जम्मा गरिदिनसमेत आग्रह गरेकी छन् । थप जानकारीको लागि ९८४५३७०६७६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।