विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्स रोगको महामारी फैलिएको भन्दै आपत्काल घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ । छिमेकी देशहरू मंकीपक्स भाइरसको सङ्क्रमणको जोखिममा रहेकाले नेपालमा पनि सतर्कता बढाउनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स सङ्क्रमण देखापरेको थियो । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको जनाएको छ । तर, नेपालमा यसबारे सोचेजस्तो र जोखिम नियन्त्रण र प्रतिकार्यका लागि तयारीमा जुटेको देखिएको छैन । जबकि अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । जनवरी यतामात्र उक्त भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको छ । छिमेकी पाकिस्तानमा यो रोग देखा परिसकेको छ । भारतसँग खुला सीमा भएको नेपालमा यो रोग भित्रिन सक्छ ।
बिफर रोग लाग्ने प्रजातिकै भाइरसबाट मंकीपक्सको सङ्क्रमण हुने बताइएको छ । मंकीपक्सले थोरैलाई मात्र गम्भीर बिरामी बनाउने भए पनि एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा पनि सर्दछ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तररूपमा देखा परिरहेको छ । सन् २०२२÷२०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो । यो भाइरस लोखर्के र बाँदरहरू जस्ता साना स्तनपायी जनावरहरुबाट सर्ने बताइन्छ । एमपक्स रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किने थुक, ¥यालको सम्पर्कबाट, भाइरसबाट दूषित सामग्रीबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्दछ ।
कोभिडभन्दा मंकीपक्स खतरनाक मानिएको छ । स्वासप्रश्वासलगायत व्यक्तिसँगको सम्पर्क, संसर्ग र छुँदा सर्ने गर्दछ । यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरू भएको एक देखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भए तापनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने भएकाले सरकारले रोगको परीक्षणका लागि केन्द्रहरू छुट्याएर उपचार गराउने आधिकारिक स्थानहरूको निक्र्योल गर्न आवश्यक छ । हालसम्म नेपाली नागरिकमा सङ्क्रमण पुष्टि नभए पनि यो रोग लागेको छैन भनेर ढुक्क हुने अवस्थाचाहिँ छैन । यस रोगले उग्र रूप लिनुअगावै सरकारले उचित उपायहरू अपनाएर सङ्क्रमण रोक्न परीक्षण र रोकथामबारे सतर्कता गराउन जरूरी देखिन्छ ।