नेपालमा बढ्दो आत्महत्या चिन्ताको विषय बन्न पुगेको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयसँग उपलब्ध तथ्याङ्कअनुसार नेपालमा औसतमा बर्षेनि छ हजारभन्दा बढी र दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्वमा आत्महत्या कुल मृत्युको पन्ध्रौँ प्रमुख कारण रहेको छ भने १५ देखि १९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण एवं महिलाहरूमा तेस्रो प्रमुख कारण आत्महत्यालाई मानिएको छ । आत्महत्याको जोखिम बढी भएका विश्वका मुलुकहरूमध्ये नेपाल सातौँ स्थानमा रहेको छ । नेपाललगायत विकासशील मुलुकहरूमा आत्महत्यासम्बन्धी विभिन्न सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखीकरणको अभाव तथा सीमित अनुसन्धान आदिका कारणले भरपर्दो तथ्याङ्कको कमी देखिन्छ ।
पछिल्लो समय गरिबीका कारण आत्महत्या गरेको पाइएको छ । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने गरेका खबरहरु पनि प्रकाशमा आइरहेकै छन् । मुलुकमा देखा परेको आर्थिक संकटले पनि मानिसलाई आत्मदाह गर्नुपर्ने अवस्थासम्म पु¥याएको छ । दाइजो, प्रेममा धोका, व्यापार घाटा, ऋण तिर्न नसकेर, पारिवारिक कलह, परीक्षामा अनुत्तीर्णलगायत सामान्य समस्यामा पनि आत्महत्या नै रोज्ने प्रवृत्तिका कारण नेपालमा आत्महत्याको स्थिति विकराल बन्दै गएको छ । पछिल्लो समय आत्महत्या गर्नेहरुमा बालबालिकासमेत देखिएका छन् । प्रायः विष खाएर र झुन्डिएर आत्महत्या गर्नेहरु बढी छन् । प्रहरीका अनुसार यसबाहेक आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर आत्महत्या गर्नेहरु छन् । आत्महत्याको स्थिति भयावह बन्दै गइरहँदा बढ्दो विकृतिको कारण भने यकिनका साथ भन्न नसकिने प्रहरी अधिकारीहरुको भनाइ छ । आत्महत्या आफैँमा मनोविकारबाट उत्पन्न हुने एउटा समस्या हो । व्यक्तिगत तनाव, प्रेम सम्बन्धमा धोका, काममा असफलता, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले मानिसहरु आत्महत्या गर्न बाध्य हुने मनोविद्हरुको विष्लेषण छ ।
- ADVERTISEMENT -
नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा कुल आत्महत्यामध्ये ८३ प्रतिशतले झुन्डिएर, १५ प्रतिशतले विष सेवन गरी र २ प्रतिशतले हाम फालेर, पानीमा डुबेर, औजार तथा हातहतियार प्रयोग गरेर, आगो लगाएर, करेन्ट लगाएर वा अन्य तरिकाबाट आत्महत्या गरेको पाइन्छ । पछिल्लो समय चौतर्फी क्षेत्रमा सङ्कट उत्पन्न हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पारिसकेको छ । जसका कारण ऋण लिएर व्यवसाय गर्ने हजारौँ व्यवसायी डिप्रेसनमा परेका छन् । आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिक मनोदशासँगै थुप्रै सामाजिक र आर्थिक पक्ष पनि
जिम्मेवार हुन्छन् । बच्चालाई पेटभरि खान दिन नसक्दा अभिभावकले बालबच्चासहित सामूहिक आत्महत्या गरेका कैयौँ दृष्टान्त छन् । नेपाली समाजमा आत्महत्या विकराल सामाजिक समस्या बनिरहँदा यसलाई व्यक्तिको मानसिक समस्याका रुपमा बुझ्नु अन्याय हुनजान्छ । तसर्थ राज्यले बढ्दो आत्महत्यालाई सामाजिक समस्याका रूपमा मात्रै नहेरी आत्महत्याका कारणहरूको समयमै खोजी गर्नु आवश्यक छ ।