September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोपालको उपचारमा जुट्दै आर्थिक सहयोग

September 4, 2024
Photo : Bina Tamang / newsprabah

– बबिलाल तामाङ

चितवन । आर्थिक सङ्कटका कारण रोकिएको गोपाल गुरूङको उपचारमा आशा पलाएको छ । न्युजप्रवाह साप्ताहिकसहित चितवनका विभिन्न सञ्चारमाध्यमबाट गोपालको वास्तविकता बाहिर आएपछि उनको उपचारमा देश विदेशबाट सहयोग जुट्न थालेको हो ।

- ADVERTISEMENT -

Advertisement

चितवनको माडीका ४३ वर्षीय गोपालको करिब डेढ वर्षअघि मोटरसाइकल दुर्घटनामा मेरूदण्ड भाँचिएको थियो । मेरूदण्डको उपचार भए पनि त्यसको असरका कारण दायाँ हात चल्न छाडेपछि त्यसको उपचार गर्न खर्च अभाव भएको हो । श्रीमती तुलसीले गोपालको उपचारमा लाखौँ रूपैयाँ खर्च गरे पनि हाल रकम अभावकै कारण विगत दुई महिनादेखि उपचार नै रोकिएको छ ।

नेपालमा सम्भव नभएपछि गोपाललाई भारत लगेको थियो । गत फागुनमा शल्यक्रिया गरेका उनलाई थप उपचारकै लागि पुनः भारत लैजानुपर्ने श्रीमती तुलसीले बताइन् ।

मुख्य उपचार भइसकेको हुँदा बाँकी उपचारको लागि चितवनका अस्पताल पनि धाइन् । तर, चितवनका डाक्टरहरूले एकपटकको लागि भारत नै लैजान सुझाएपछि तुलसी उपचार खर्च जुटाउन दौडिएकी हुन् ।

चितवनका सञ्चारमाध्यमबाट खबर बाहिरिएपछि उनले हालसम्म ३३ हजार रूपैयाँ सङ्कलन गर्न सफल भएकी छिन् । श्रीमान्लाई भारत लैजानमात्रै कम्तिमा ५० देखि ६० हजार रुपैयाँ खर्चको आवश्यकता पर्छ । त्यसबाहेक नेपालमै गर्ने उपचारमा पनि दैनिक एक हजार रुपैयाँका दरले खर्च हुँदै आएको उनले बताइन् ।

२०७९ फागुनमा मोटरसाइकल दुर्घटनामा परेका गोपालको ९ महिनासम्म नेपालकै विभिन्न अस्पतालमा उपचार गर्ने प्रयास भयो । तर, सम्भव नभएपछि भारत लगेर गत फागुनमा शल्यक्रिया गरिएको हो । हालसम्म गोपालको उपचारमा करिब २५ लाख रूपैयाँ खर्च भइसकेको तुलसीले बताइन् । पैसा जुटाउन सक्दासम्म उपचार गरे पनि हाल रकम अभाव भएपछि उपचार नै रोकिएको उनले बताइन् ।

हालसम्म जुटेको रकममाथि थप रकम जुटाउन सके जतिसक्दो चाँडो श्रीमानको उपचार हुने आशमा छिन्, उनी । त्यसकारण थप सहयोग जुटाउने प्रयत्न गरिरहेको उनले बताइन् । मनकारी व्यक्तिहरूलाई पनि धेरथोर सहयोग गरिदिन उनले सार्वजनिकरूपमै अपिल गरेकी छन् । ‘मसँग भएको सबै चिज सकिएपछि मैले श्रीमानको उपचार गर्न पनि सकिनँ,’ उनले भनिन्, ‘क्यै गरी पनि नसक्ने भएपछि मैले दुवै हात उठाएर तपाइँहरुसँग सहयोग मागिरहेकी छु ।’

घर चलाउने व्यक्ति नै ओछ्यान परेपछि आयस्रोत नै बन्द भएको उनको भनाइ छ । उनका अनुसार करिब डेढ वर्षयता घरभाडा समेत तिर्न बाँकी छ । ‘पहिले श्रीमानको उपचार सम्पन्न गर्न पाए घरभाडा भन्ने कुरो त कमाएर पनि तिरिन्छ भन्ने लागेको छ,’ उनले भनिन् ।

तुलसीले गोपालको उपचारमा सहयोग गर्न चाहनेहरूका लागि भाइ पशुपति श्रेष्ठको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १६२०१००५५३९८८०१० मा रकम जम्मा गरिदिनसमेत आग्रह गरेकी छन् । थप जानकारीको लागि ९८४५३७०६७६ मा सम्पर्क गर्न सक्ने छ ।