– बबिलाल तामाङ
चितवन । राक्सिराङ गाउँपालिका वडा नं. ५ मा स्थित लोकप्रिय प्राथमिक विद्यालय जुर्लिङमा अध्ययनरत विद्यार्थीका लागि पोशाक तथा सरसफाइ स्वच्छताका सामग्री सहयोग गरिएको छ । अमेरिकाको जर्जियामा बसोबास गर्दै आएका दम्पती कर्ण गुरुङ, प्रेमा गुरुङ र उनीहरुको छोराद्वय सलिन र समिन गुरुङको तर्फबाट बिहीबार उक्त सहयोग उपलब्ध भएको समाजसेवी रेखा तामाङ लोप्चनले न्यूजप्रवाह डटकमलाई जानकारी दिए ।
- ADVERTISEMENT -
गाउँपालिकाको विकट भेगका चेपाङ विद्यार्थीलाई समाजसेवी तामाङकै सहयोगको अभियानअन्तर्गत गुरुङ परिवारले सो सहयोग गरेका हुन् । गुरुङ परिवारले यसअघि (असार) पनि सोही स्थानमा विद्यालय पोशाक र सरसफाइका लागि भन्दै आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यसबेला कर्ण गुरुङ आफैँ आएर विद्यालय र बालबालिकाको अवस्थाबारे बुझेपछि थप सहयोग गरिएको समाजसेवी तामाङले बताइन् ।
पहिलो चरणमा छुटेकामध्ये ७५ जनाभन्दा बढी बालबालिकालाई पोशाक तथा सरसफाइ सामग्री वितरण गरिएको उनले भने । चेपाङ बालबालिकालाई टिफिन बक्स, पानी खाने बोत्तल, स्याम्पु साबुन, ब्रस, मन्जन लगायत विभिन्न सामग्री दिइएको थियो ।
- ADVERTISEMENT -
सोही अवसरमा गुरुङ परिवारले चेपाङ समुदायको दुई जना बालबालिकालाई स्कुले शिक्षा पूरा भएपछि डाक्टर पढाउन सहयोग गर्नेसमेत घोषणा गरेको समाजसेवी तामाङले जानकारी दिइन् ।
कार्यक्रममा संविधान सभा सदस्य राजाराम स्याङतान प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि स्याङतानले विकटका विपन्न चेपाङ बालबालिकाको उज्वल भविष्यको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले सहयोग गर्ने दाताको खुलेर प्रशंसा गरेका थिए ।
संविधान सभा सदस्य स्याङतानले सम्मान स्वरुप मायाको चिनो समाजसेवी रेखा तामाङ मार्फत सहयोगी दाता (गुरुङ दम्पत्ती) लाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा स्थानीय अगुवा कृष्णबहादुर चेपाङ, सगुन स्याङतान, ज्ञानेन्द्र तामाङ, रामशरण प्रजा लगायतको उपस्थिति रहेको थियो ।
करिब ८० जना विद्यार्थी रहेको सो विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययनरत छन् । राक्सिराङका विकट भेगमा विपन्न तथा गरिब परिवारको बालबालिकालाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्रीहरुको सधैं अभाव हुने गरेको छ ।