चितवन / मेघौलीको राप्ती नदीमा माछा मार्ने क्रममा दुई जना बेपत्ता भएका छन् । शुक्रवार अपरान्ह तीन जना स्थानीय नदीमा प्रवेश गरेका उनीहरुमध्ये एक जना भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार भरतपुर–२५ का ४३ वर्षीय सञ्जिव चौधरी, भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको थियो । बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए ।
- ADVERTISEMENT -
त्यही सूचनाको आधारमा हराएकाहरुको शुक्रवार रातिबाटै खोजी सुरु गरिएको थियो । निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिवार पनि विहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेको हो । सेनाले रोहितकुमारको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको बताएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले पनि दुई जना व्यक्ति राप्तीमा जाँदा बेपत्ता भएको सूचनाको आधारमा खोजी भइरहेको बताए। चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछ ।
- ADVERTISEMENT -
निकुञ्जभित्र अनाधिकृतरुपमा प्रवेश गर्न पनि पाइँदैन। तर निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले प्रशासन तथा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै माछा मार्ने, निउरो, घाँस, दाउराका लागि निकुञ्जभित्र प्रवेश गर्ने गर्छन् ।