चितवन / रत्ननगर नगरपालिका वडा नं. १५ मा सुत्केरी र गर्भवती महिलालाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरिएको छ । सुत्केरी र गर्भवती गरी १५ जनालाई बुधबार कुखुराको भाले, दुई किलो घ्यू, एक क्रेट अण्डा, मुङको दाल, भटमास लगायत सरसफाइका सामग्री वितरण गरिएको हो ।
वडा कार्यालयको विनियोजित बजेटबाट सुत्केरी तथा गर्भवती महिलाको सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तामाङ लगायतले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहार हस्तान्तरण गरेका हुन् । स्थानीय सरकारले पौष्टिक आहार दिने भएपछि सुत्केरी महिलाहरु काँखमा शिशु च्यापेर सो सामग्री लिन आएका थिए ।
- ADVERTISEMENT -

वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सुत्केरी आमा र शिशुको सुरक्षाको लागि पौष्टिक आहार वितरण गरेको बताए । सुत्केरी र गर्भवती महिलालाई प्रदान गरेको उक्त सामग्री स्थानीय किसानले उत्पादन गरेका हुन् । वडाध्यक्ष तामाङले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय किसानहरुले उत्पादन गरेको कुखुरा, अण्डा र ध्यू खरिद गरी वितरण गरेको बताए ।
सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेवारी हो भन्दै वडाध्यक्ष तामाङले अगाडि भने पूर्वाधार निर्माण मात्र विकास होइन, नागरिकको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण पाटो हो । माधवपुरवासीको सुखदुःखमा वडा कार्यालयसँगै रहेको सन्देश दिनको लागि पनि कार्यक्रम आयोजना गरिएको उनले भने ।
- ADVERTISEMENT -

सो वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसंगै भ्याक्सिन, भिडियो एक्सरे लगायतका आधारभूत सेवा स्वास्थ्य केन्द्रबाटै प्रदान गर्दै आएको छ । कार्यालयले विभिन्न चरण गरि १ सय २३ जना गर्भवती (आमा) र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ ।
कार्यक्रममा वडा सदस्य शिव तिवारी, ईमप्रसाद पन्त, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी, स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति रहेको थियो । आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर– १५ की इन्चार्ज रोजिना गिरीले संचालन गरेको कार्यक्रममा वडा सदस्य रुकमाया परियारले स्वागत् मन्तव्य दिइन् ।









































