चितवन / भरतपुर–११, भोजाडमा “दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर“ विषयक एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । युनाईटेड टेक्निकल कलेज (युटेक)को आयोजनामा आइतबार सो सम्मेलन सम्पन्न भएको हो ।
पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डीन प्राध्यापक राजेशकुमार ठकुराठीले सम्मेलनको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ठकुराठीले दिगो निर्माण र व्यवस्थापनको महत्व र यसका अवसरहरूको बारेमा चर्चा गरेका थिए । उनले युवा विद्यार्थीहरूलाई यस क्षेत्रमा संलग्न हुन समेत आग्रह गरे ।
कलेजका प्रबन्ध निर्देशक इन्जिनियर बाबुराम उपाध्यायले दिगो निर्माण प्रविधिको प्रयोगले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
कलेजका अनुसन्धान निर्देशक डा. अर्जुन बानियाँले स्वागत मन्तव्य दिएका थिए । डा बानियाँले सम्मेलनको मुख्य उद्देश्य भनेको दिगो निर्माण प्रविधि र व्यवस्थापनमा चुनौती र अवसरहरु भएको बताए ।
सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल प्राध्यापक डा. केशवदत्त अवस्थीले सहभागीको नयाँ सोचबाट आफू प्रभावित भएको बताए । यसले आधुनिक प्रविधि उपयोग र नयाँ परिवर्तनमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
कृषि संकायका डीन प्राध्यापक डा. अर्जुनकुमार श्रेष्ठ दिगो निर्माण प्रविधि र व्यवस्थापनको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको संचालन सिभिल विभागीय प्रमुख निरज बोहराले गरेका हुन् ।
कार्यक्रममा नेपाल, अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयबाट प्राध्यापक, अनुसन्धानकर्ताहरुको सहभागिता थियो भने उनीहरुले मुख्य वक्ताको रुपमा आफ्नो अनुसन्धानको प्रस्तुति दिएका थिए ।
सम्मेलनमा ज्याक्सन विश्वविद्यालय अमेरिकामा कार्यरत प्राध्यापक डा. रकी ताल्चाभडेल, डा. ओमप्रकाश गिरी, पोखरा विश्वविद्यालयका डा. रामहरी पौड्याल लगायतले आफ्नो अनुसन्धानको प्रस्तुति दिएका हुन् ।
सम्मेलनका प्रमुख विषयवस्तुहरुमा जलवायु परिवर्तनका बीचमा दिगो विकास, वातावरणीय प्रभाव मूल्याकन, कंक्रिटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्याकन लगायतका विषयहरु रहेका थिए ।
सम्मेलनमा विभिन्न प्राविधिक सत्रहरूमा युनाईटेड टेक्निकल कलेज, पोखरा विश्वविद्यालय इन्जिनियरिङ संकाय लगायतका देशका अन्य विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।
यसअघि पनि सन् २०२१ मा कलेजले दिगो ईन्जिनियरिङ् प्रविधि र व्यवस्थापन विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।