गैँडाकोट / नारायणी नदीकिनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक २६ देखि नेपाल उद्योग वाणिज्य महासब्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा महोत्सव हुँदैछ ।
महोत्सव मूल समिति संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष अमृत भट्टचनले महोत्सवको तयारी आइतबार साँझसम्म ९९ प्रतिशत पूरा भएको बताए । महोत्सव स्थलमा प्रवेश गेट राख्ने काम मात्रै बाँकी भएको भन्दै अन्य सबै तयारी पूरा भएको उनले जानकारी दिए ।
- ADVERTISEMENT -
यसपटकको महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिएको भन्दै यसले दर्शकहरुलाई नौलो स्वाद पस्केको उनको भनाइ छ । आज (सोमबार) उद्घाटन हुने महोत्सवको शोभायात्रा गरिँदै छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज दिउँसो महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -
महोत्सवमा थारु, तामाङ, गुरुङ, चेपाब र मगरको संस्कृतिबारे जानकारी दिन उनीहरुको छुट्टाछुट्टै सांस्कृतिक घर
निर्माण गरिएको छ । तीन सय स्टल रहने महोत्सवमा कृषि उत्पादनका लागि ५० वटा स्टल निःशुल्क प्रवद्र्धन गरिएको उनले भने ।
मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको छ । एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।