काठमाडौं / चितवनको इच्छाकामना–६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आइतबार साँझ दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोकाअनुसार चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका(३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो ।
घाइते आरम्भको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको डीएसपी महतोले जानकारी दिए । अरु दुई घाइतेको भने भरतपुरमा उपचार भइरहेको छ ।
घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका–६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको हो ।
ट्रक चालक मकवानपुरगढी गाउँपालिका–६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।