चितवन / भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१÷८२ को प्रथम चौमासिकमा भएका कामको शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मेयर दाहालले निर्माणधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् । भरतपुरमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तीव्ररूपमा अघि बढेको बताइन् । रङ्गशालाको काम अहिले १२ प्रतिशत पूरा भइसकेको छ ।
भ्रष्ट्राचारविरुद्धको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरुले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।
सहभागीहरुले छ लेन सडकमा ट्राफिक लाइट राख्नुपर्ने, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, भरतपुरका सडकको मापदण्ड, विमानस्थलको विस्तारलगायतका प्रश्न सोधेका थिए । सहभागीहरुले गुनासो तथा सुझावहरुको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायतले जवाफ दिएका थिए ।
भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा मुख्य चोकमा पाँचवटा ट्राफिक लाइट राख्ने कार्यलाई अगाडि बढाइएको बताइन् । यस्तै, उनले संघीय खानेपानी तथा सरसफाइ योजनाबाट हुन लागेको तीन अर्बको योजनाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको उल्लेख गरिन् । भरतपुरलाई सौन्दर्यकरण गर्न मापदण्डविपरीतका संरचना भत्काउने कार्य निरन्तररूपमा अघि बढिरहने उनको भनाइ थियो ।
महानगरपालिकाको आन्तरिक आय कम हुँदाहुँदै पनि सक्रिय पहल र समन्वयमा ठूला–ठूला विकास निर्माणका कार्यहरु अगाडि बढाउन सकिएको उल्लेख गरिन् । छ लेन सडक निर्माण भएपश्चात् सर्भिस लेनमा पाकिङ हुने समस्या हटेर जाने विश्वास व्यक्त गरिन् । यसका लागि कार्यदल बनाएर काम भइरहेको जानकारी दिइन् ।
मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने यसरी काम अगाडि बढाउन सम्बन्धित महाशाखा, शाखाका कर्मचारीहरुलाई निर्देशनसमेत दिइन् । उनले महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पारिन् ।
कार्यक्रममा कार्यक्रममा जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन प्रहरी प्रमुख गौतम मिश्रलगायतको उपस्थिति रहेको थियो ।