चितवन / उद्योग वाणिज्य सङ्घ चितवनले ५८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले शनिबार दियो प्रज्वलन गरी संघको ५८औँ वार्षिक साधारणसभाको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको सम्भावना बलियो हुँदै गएको बताए ।
उनले सार्वजनिक स्थान, सामाजिक सञ्जाललगायतका ठाउँमा नेपालमा केही हुँदैन भन्दै एकप्रकारको भाष्य निर्माण गर्न खोजिएको र हल्लाको पछाडि नलाग्न व्यवसायीलाई आग्रह गरे ।
नेपालमा वैदेशिक संस्थाबाट भित्रिने लगानीबाट मात्रै नभई आन्तरिक लगानीबाट ठूला आयोजना निर्माण गर्न सक्ने अवस्था रहेको बताए ।
साधारणसभाका क्रममा उद्योगीहरुले आफूहरुका धेरै समस्याहरु रहेका भन्दै तिनीहरुको समाधानका लागि राज्यले उचित नीति निर्माण गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीको लगानी सुरक्षा, ऋणलगायतका क्षेत्रमा राज्यले सहुलियत प्रदान गर्नुपर्ने बताए ।
मुलुकमा रहेका तीनवटै तहका सरकारले आर्थिक क्रियाकलाप सक्रिय हुनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा श्रेष्ठले जोड दिए ।
कार्यक्रममा व्यावसायिक सङ्घसङ्गठनका प्रतिनिधिसहित, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदीले धन्यवाद ज्ञापन गरे भने कार्यकारी निर्देशक निलबहादुर केसीले कार्यक्रम सञ्चालन गरेका हुन् ।