January 15, 2025
- ADVERTISEMENT -

हेटौंडामा दोस्रो अधिवेशन गर्दै एटीजे बागमती

चितवन शाखा उत्कृष्ट, अमरध्वज लामालाई सम्मान
December 4, 2024

– बबिलाल तामाङ
भरतपुर । तामाङ पत्रकार संघ (एटीजे) जिल्ला शाखा चितवनलाई उत्कृष्ट शाखा र रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामालाई वरिष्ठ पत्रकारको रुपमा सम्मान गरिने भएको छ ।

तामाङ पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित तामाङ पत्रकार संघ (एटीजे) बागमती प्रदेशले दोस्रो अधिवेशनको अवसर पारेर चितवन शाखा र कार्यकारी निर्देशक लामालाई सम्मान गर्न लागेको हो ।

तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष अर्जुन तामाङ (पाख्रिन)का अनुसार तामाङ पत्रकार संघ चितवन शाखाले स्थापनाकालदेखि नै विभिन्न गतिविधिलाई निरन्तरता दिनुका साथै संस्थागत विकासमार्फत तामाङ समुदायका क्रियाकलापलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान दिएको भन्दै सम्मान गर्न लागेको हो ।

‘तामाङ समुदायको संस्कार, संस्कृति, भाषालगायतमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै प्रदेशभरकै जिल्ला शाखाहरुमा मूल्याङ्कनका आधारमा उत्कृष्ट शाखा भएकोले प्रदेश समितिले यही मङ्सिर २२ गते सम्मान गर्न लागेका हौं,’ अध्यक्ष पाख्रिनले भने, ‘चितवन शाखालाई अन्य शाखाले पनि पछ्याउँदै जाओस् भन्ने हाम्रो चाहना हो ।’

चितवन शाखाले स्थापनाकालदेखि भित्तेपात्रो प्रकाशन, भाषा प्रशिक्षण, एसएलसीमा उत्कृष्ट भएका विद्यार्थीलाई हौसला प्रदान गर्नको लागि सम्मान, ‘तामाङ पत्रकारिता’ नामक स्मारिका प्रकाशन, तामाङ समुदायका विभिन्न संघसंगठनलाई सहयोग आदि काममा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

तामाङ पत्रकार संघ चितवन शाखा वि.सं. २०७० साल माघ २५ गते स्थापना भएको हो । स्थापनाकालमा ‘तामाङ सञ्चार समूह’को रूपमा उदाएको संस्था वि.सं. २०७३ सालमा काठमाडौंमा सम्पन्न दोस्रो महाधिवेशनबाट नाम संशोधन भई ‘तामाङ पत्रकार संघ’ कायम गरिएको हो ।

सोही अवसरमा प्रदेश समितिले रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामालाई सम्मान गर्ने भएको छ । तामाङ पत्रकारहरुको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै वरिष्ठ सञ्चारकर्मी लामालाई सम्मान गर्न लागेको एटीजे बागमती प्रदेशका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।

नेपाली सञ्चारको दुनियाँमा करिब तीन दशक समय बिताइसकेका लामाले तामाङ पत्रकारहरुको स्थायित्व, सामुदायिक विकास र सञ्चारकर्मीको विकासमा विशेष योगदान पुर्याएका आधारमा सम्मान गर्न लागेको उनले बताए ।

कार्यक्रमको स्थानीय आयोजकको रुपमा एटीजे जिल्ला शाखा मकवानपुर रहेको छ । दोस्रो अधिवेशनले निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने एटीजे बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ, तामाङ समुदायबाट निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहने उनले बताए ।

बागमती प्रदेशको सबै जिल्लामा तामाङ पत्रकार संघको जिल्ला शाखा बिस्तार भएका छन् । वि.सं. २०७८ सालमा तामाङ पत्रकार संघ बागमती प्रदेशको स्थापना भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -