February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भीमोदय माविको ५४औँ वार्षिकोत्सवमा विभिन्न व्यक्तिहरु सम्मानित

December 30, 2024

पदमपुर / भीमोदय नमुना माध्यमिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । कालिका नगरपालिका वडा नं.५ मा रहेको विद्यालयले कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको उपस्थितिमा ५४औँ वार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल जी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुख विमला लामा तमाङ, कालिका नगरपालिका शिक्षा निर्देशक गंगाधर रिमाल, विद्यालयका संस्थापक नन्दप्रसाद भट्टराई, विभिन्न वडाका जनप्रतिनिधि, छिमेकी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापकसहित अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष भैरवप्रसाद धितालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामप्रसाद खनालले आर्थिक प्रतिवेदन र प्रधानाध्यापक इन्द्रनाथ पौडेलले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भीमोदय नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ विज्ञान समूह र बाली विज्ञान समुह अध्ययन गरी विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका १३ जना विद्यार्थी, आधारभूत तह, माध्यमिक तह र कक्षा १२ को परीषामा कालिका नगर प्रथम हुने विद्यार्थीलाई सम्मान गरिएको थियोे ।

विभिन्न शीर्षकका अक्षयकोषबाट ३७ जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । कक्षा ८, १० र १२ मा आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल हुने पाँच जना शिक्षक, स्वर्ण महोत्सव–२०८० सम्पन्न गराउने सचिवालय सदस्य तथा उपसमितिका संयोजकसहित ५८ जनालाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रामप्रसाद खनालले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम, खेलकुद तथा खुला रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको थियो । खुला रक्तदान कार्यक्रममा एघार महिलासहित ५८ जनाले रक्तदान गरेका थिए ।

- ADVERTISEMENT -