काठमाडौं / देशभर ५५ वटा विमानस्थल रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार देशभरका १५ वटा पूर्णरुपमा बन्द, १६ वटा आंशिक सञ्चालन र २४ वटा मात्रै पूर्णरुपमा सञ्चालनमा रहेका छन् ।
साथै एउटा आन्तरिक विमानस्थल भने लामो समयदेखि निर्माणाधीन अवस्थामा छ । केही विमानस्थल अझै अध्ययनको क्रममा रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनमा रहेका छन् ।
यसैगरी, नेपालगञ्ज, धनगढी, सुर्खेत, भरतपुर, जनकपुर, सिमरा, राजविराज, विराटनगर, चन्द्रगढी, भद्रपुर, लुक्ला, जोमसोम, सिमिकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, रामेछाप, फाप्लु, रारा, रुकुम सल्ले विमानस्थल नियमित संचालन भइरहेको उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, बाजुरा, भोजपुर, रुम्झाटार, ताप्लेजुङ, खानीडाँडा, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी, इलाम, बैतडी, टिकापुर र गुल्मी विमानस्थल भने आंशिक रुपमा संचालन भइरहेको छ ।
साना विमान सञ्चालनका लागि पर्याप्त पूर्वाधार भए पनि यात्रु अभावले यी विमानस्थलमा नियमित उडान हुन सकेको छैन । टिकापुर र कमलबजारमा भने भर्खरै मात्रै परीक्षण उडान सम्पन्न भएपनि नियमित उडान भएको छैन ।
१५ वटा विमानस्थल भने पूर्ण रूपमा बन्द रहेको जनाइएको छ । जसमा दार्चुला, मेहन्द्रनगर, कालिकोट, मसिनेचौर, चौरजहारी, रोल्पा, ढोरपाटन, मनाङ, पालुङटार, मेघौली, जिरी, खिजी चिण्डेश्वरी, स्याङबोचे र खानीडाँडा विमानस्थल रहेका छन् ।
अर्घाखाँची विमानस्थल भने लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ ।