काठमाडौँ / संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएका अनिल कुमार पोखरेललाई आफ्नो स्वकीय सचिवको जिम्मेवारीबाट निकालेका छन् ।
सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई स्वकीय सचिवबाट हटाइएको जानकारी दिएका हुन् ।
अनुसन्धानमा सहयोग पुगोस् भनेर अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरिएको सभापति पोखरेलले उल्लेख गरेका छन् । मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौँ बस्ने अनिल पोखरेल ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको हो ।
अनिलले एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको आरोप लागेको हो । छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भनी अनिलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका(५ बकधुवा निवासी बौआलाल चौधरीको छ ।