चितवन / नेपाल मगर संघको भ्रातृ संगठन नेपाल मगर सांस्कृतिक संघ, चितवन शाखाले यही शनिबार (पुस २७ गते) खुला कौराहा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । माघे संक्रान्तिको अवसर पारेर भरतपुरमा उक्त प्रतियोगिता हुन गइरहेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष प्रेमकुमारी आलेमगरले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा प्रतियोगिता हुने बताइन् ।
- ADVERTISEMENT -

प्रतियोगितामा लोकदोहोरी गायक अमर विरही गुरुङ, गायिका रञ्जिता थापामगर र गायक बलविक्रम थापामगरको विशेष आकर्षण रहने छन् । प्रतियोगितामा पहिलो हुने समूहले ३५ हजार, दोस्रो हुने समूहले २० हजार, तेस्रो हुने समूहले १० हजार र चौथो हुने समूहले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा सहभागी हुनका लागि पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । २०७९ सालमा पहिलोपटक आयोजना गरिएको कौराहा नृत्य प्रतियोगितामा सात वटा समूह सहभागी रहेको र यस वर्ष १० वटा समूह सहभागी हुने अपेक्षा गरिएको छ । ‘चितवनका आठ वटा समूहले नाम दर्ता गराइसकेका छन्’ अध्यक्ष आलेमगरले भनिन्, ‘तनहुँ र नवलपुरबाट समेत समूह सहभागी हुने आशा गरेका छौँ ।’
नेपाल मगर संघ चितवनका अध्यक्ष लालबहादुर थापामगर प्रमुख अतिथि रहेको पत्रकार सम्मेलन सांस्कृतिक संघ चितवनका सचिव प्रकाश थापामगरले संचालन गरेका थिए । प्रमुख अतिथि लालबहादुरले कौराहा नृत्य चारदेखि १० जनासम्मले समूहमा नाच्ने जानकारी दिँदै प्रतियोगिताको सफलताको कामना गरे ।









































