काठमाडौं / ३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस आज । नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको आज (शनिबार) सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो । टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो ।
यसपछि उनले एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाएका थिए । उनले शुरू गरेको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । पछि नेपाल–अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुग्यो ।
‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’, लगायत उनका कैयौँ उद्गार आज पनि सान्दर्भिक मानिन्छन् । १८२५ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो ।
यो अवसरमा सिंहदरबारको पश्चिम मूल ढोका अघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिँदैछ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।