चितवन / नारायणी नदी किनारमा जारी १५औं संस्करणको चितवन महोत्सवमा दर्शकहरुको घुइँचो बढ्दै गएको छ ।
महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।
उद्घाटन अघि र्यालीमा सहभागि भएका, उद्घाटन समारोह, महोत्सवको दोश्रो र तेश्रो दिनमा कुल करिब १ लाखले अवलोकन गरेको तथ्यांक रहेको सुवेदीले बताए ।
तेश्रो दिन शनिबार महोत्सव परिसर नारायणी नदी किनार भरिभराउ भएको थियो । महोत्सवमा उल्लासमय सहभागिता देखिएको थियो । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा जारी महोत्सव माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।