चितवन / भरतपुर–७, कृष्णपुरस्थित वीपी मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा शनिबार सम्पन्न दोस्रो मौलिक कौराहा (कानराहा) प्रतियोगितामा चन्द्र एकता मगर समाज भरतपुर–२, क्षेत्रपुर प्रथम भएको छ ।
नेपाल मगर सास्कृतिक संघ जिल्ला समन्वय समिति चितवनले मगर जातिको महान पर्व माघे सकरातीको अवसर पारेर आयोजना गरेको कौराहा प्रतियोगितामा सो समूह प्रथम भएको हो ।
नेपाल मगर सांस्कृतिक संघ चितवनका अध्यक्ष प्रेम माया आले मगरका अनुसार प्रथम हुने समाजले ६ वटा समूहलाई पछि पार्दै ३ सय पूर्णाङ्कमा २०५ अंक ल्याएर दोस्रो पटक पनि पहिलो उपाधि जित्न सफल भएको हो । सोही अनुसार समूहले नगद रु ३५ हजारको चेक, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तैगरी श्रृजनशिल मगर समाज भरतपुर ५ कैलाशनगरले १९५ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएका छन् भने नगद रु २० हजारको चेक, प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै, ज्ञानोदय मगर समाज भरतपुर ९ सरदपुर (क ) ले १९० अंक ल्याएर तृतीय स्थान हासिल गर्न सफल भएको हो भने समुहले नगद रु १० हजारको चेक र प्रमाणपत्र प्राप्त गरे ।
सान्त्वना भएका कोटा मगर समाज देवघाटले १८२ अंक ल्याए । सो समुहले नगद रु ५ हजारको चेक र प्रमाण पत्र प्राप्त गरेको हो । प्रतियोगितामा १७७ अंक ल्याएको भरतपुर १५ फुलबारी एकता मगर समूहले अनुशासित तथा सृर्जनशील पुरस्कार प्राप्त गरेको छ ।
उक्त समुहलाई नगद पच्चीस सय र प्रमाणपत्रले सम्मान गरियो । १७२ अंक ल्याउने नेपाल मगर संघ सारदानगर भरतपुर २० र १७० अंक ल्याएका सोनी लाफा मगर समूह खैरहनी ४ लाई प्रोत्साहन पुरस्कार नगद २५ सय प्रदान गरिएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, नेपाल मगर लेखक संघ गण्डकी प्रदेश उपाध्यक्ष, कौराहा संरक्षक, साहित्यकार खड्ग पामी आले मगर, नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय सचिव तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरका उपाध्यक्ष रज्जीता थापा मगरले निर्णायकको भुमिकामा रहेका थिए ।
प्रतियोगितामा लोक तथा दोहोरी गायक बलविक्रम थापामगरले मगर समुदायको पुराना माउली बाजा प्रस्तुत गरे भने लोक तथा दोहोरी गायिका बबिता थाप मगरले सोरठी गीतले मनोरंजन दिलाए । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले सांस्कृतिक नृत्य प्रस्तुत गरे ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले रहेका थिए । अध्यक्ष काफ्लेले मगर समुदायको मुख्य पर्व माघे सकरातीको शुभकामना व्यक्त गर्दै यस्ता किसिमका प्रतियोगिताले संस्कार संस्कृतिलाई पुस्तान्तरण गर्न महत्वपुर्ण भूमिका खेल्ने बताए । जनजातिको उत्थानको लागी सहयोग गर्न सधै तत्पर रहेको उनको भनाइ थियो ।
यस्तै नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय उपाध्यक्ष पदम थापा मगरले केन्द्रलाई समेत झकझकाउने गरी चितवनले आयोजना गरेकोमा प्रशंसा गर्दै कला संस्कार संस्कृति संरक्षणमा सबै एकताबद्ध हुनुपर्ने बताए ।
कार्यक्रम आशिक राना मगर, मुना लम्तरी मगर, देउकुमार थापामगरले सञ्चालन गरेका थिए ।