भरतपुर / सिम्जुङ–चितवन सेवा समाजले तीन जना ज्येष्ठ नागरिक र तीन जना विद्यार्थीसहित ६ जनालाई सम्मान गरेको छ । समाजको दोस्रो वार्षिक साधारण सभाको अवसरमा शनिवार भरतपुरको आँपटारीस्थित जलदेवी सामुदायिक वनको वनभोजस्थलमा उनीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
समाजले २०८० सालको इसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु अभिषेक दवाडी, दीपेश दवाडी र रितिस्मा दवाडीलाई उज्ज्वल भविष्यको कामनासहित सम्मान गरिएको समाजका अध्यक्ष भीमप्रसाद दवाडीले जानकारी दिए ।
त्यसबाहेक ८० वर्ष उमेर पार गरेका वृद्धवृद्धालाई ‘ज्येष्ठ नागरिक सम्मान’द्वारा सम्मान गरिएको उनले बताए । सम्मानित हुनेहरुमा डण्डपाणी लामिछाने, विष्णुदत्त दवाडी र फणिन्द्र दवाडीलाई सम्मान गरिएको अध्यक्ष दवाडीले बताए ।
वि.सं.२०७९ सालमा गोरखा जिल्लाको साविक सिम्जुङ गाउँ विकास समितिबाट विभिन्न पेसा तथा व्यवसायको लागि चितवन झरेर बसेकाहरुलाई सङ्गठित गर्न समाजको गठन गरिएको हो । समाजमा हाल ९ जना आजीवन सदस्य र ८५ जना साधारण सदस्य आवद्ध छन् ।
‘यो संस्थालाई थप क्रियाशील बनाउनको लागि सबै सिम्जुङवासीको सहयोग आवश्यक छ,’ उनले भने, ‘संस्थामा नजोडिएका कैयन् व्यक्तिहरु बाहिर हुनुहुन्छ । उहाँहरुलाई पनि संस्थामा आवद्ध गराउने प्रयास सबैले गरौँ । संस्थालाई अझ बलियो बनाऔँ।’
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं.५ का वडाअध्यक्ष युद्धप्रसाद श्रेष्ठले चितवन सबै जिल्लाबाट आएर बसोबास गर्ने जिल्ला भएकोले सबैको साझा फूलबारीको रूपमा विकास भएको बताए । जहाँ गए पनि आफ्नो गाउँठाउँको झल्को मेटाउने गरी गठित संघसंस्थाबाट सबैलाई एकार्काबीच अपनत्व महसुस गराउने उनले बताए ।
‘हामी चितनवासी हौँ । तर, चितवनभित्रै गोरखा पाउँछौँ, बागलुङ पाउँछौँ, धादिङ पाउँछौँ, लम्जुङ पाउँछौँ,’ केही जिल्लाको उदाहरण दिँदै वडाअध्यक्ष श्रेष्ठले भने, ‘त्यसकारण चितवन ७८औँ जिल्ला बनेको छ । सबैको साझा फूलबारी बनेको छ ।’ समाजको गठनले एकापसमा सहयोग गर्ने बाटो खुला भएको उनले बताए । ‘यहाँ समाज गठन नयाँ भए पनि व्यक्ति पुरानै हुने हुँदा संस्थाको लागि ठाउँ मात्रै नयाँ हो,’ उनले थपे, ‘त्यसकारण चितवन जिल्लाभित्र देशभरका अधिकांश जिल्ला पाउँछौँ ।’
समाजका उपाध्यक्ष छवि दवाडीले स्वागत मन्तव्य दिएको कार्यक्रममा दवाडी स्वयम्ले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए । संस्थाको प्रगति प्रतिवेदन भने सचिव चेतनाथ दवाडीले प्रस्तुत गरेका थिए । वार्षिक साधारण सभापछि नाचगान गरेर रमाइलो गरेका थिए ।