February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वन्यजन्तुमैत्री संरचनाको खाँचो

January 15, 2025

पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएका घटना सार्वजनिक भइरहेका छन् । पछिल्लो समय वन्यजन्तुको संख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । चितवनमा केही दिनअघि गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भयो । चितवनमा रोनाल्डो, ध्रुवे र मकुना नामका जंगली बालीनाली र घरटहरा भत्काउने गरेको छ । यस्ता श्रृंखलाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढाइरहेको छ । यस्तो द्वन्द्वको घटना बढ्नु आफैँमा चिन्ताको विषय त हुँदै हो, यस प्रकरणले संरक्षणमा पनि चुनौती थपिएको छ । हात्ती मानव बस्तीमा प्रवेश गरेर जनधनको क्षति पु¥याउने र हात्ती पनि मानवीय निसानामा पर्ने उपक्रम दोहरिने गरेको छ । यस्तो समस्या हरेक राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहँदैआएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ३९, सामान्य घाइते संख्या ७२ र सख्त घाइते हुनेको संख्या एक सय २४, घरगोठको क्षति पाँच सय ३१ रहेको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सबैभन्दा बढी हात्ती र त्यसपछि बाघको आक्रमणबाट मानिसको मृन्यु हुने गरेको तथ्यांक छ । विगत २० वर्षमा मात्रै नेपालमा ११ हजारभन्दा बढी मानव–हात्ती द्वन्द्वका घटना रेकर्ड गरिएका छन् । यी घटनामा दुई सय ७४ जनाको मृत्यु भएको छ भने एक सय ३८ जना घाइते भएका देखिन्छ । यस्तै, सवारीसाधनको ठक्करबाट पाटेबाघ मरेका र पाटेबाघको आक्रमणबाट निकुञ्ज वरपरका मानिसले ज्यान गुमाउनुपरेका घटना संयोगमात्र होइनन् । यस्ता घटना निरन्तर भइरहेका छन् ।

मानव र वन्यजन्तु क्षतिका घटना न्यूनीकरणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पूर्वाधारहरु निर्माण गर्दा वन्यजन्तुमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने भएको छ । वन्यजन्तुको बासस्थान, गतिविधिलगायत वैज्ञानिक तथा प्राविधिक अध्ययन गरेरमात्रै अन्डरग्राउण्ड पास वा आकाशे पुलजस्ता संरचना निर्माण गर्न ढिलाइ गर्नु हुँदैन । वन्यजन्तुको क्षति हुँदा जसरी संरक्षणकर्मीहरुले चासो लिन्छन्, चिन्ता व्यक्त गर्छन्, उसैगरी वन्यजन्तुबाट भएका मानवीय क्षतिलाई पनि सामान्य ठान्नु गलत हुन जान्छ । मानवीयभन्दा वन्यजन्तुको जीवन कुनै मानेमा अमूल्य हुनसक्दैन । नेपालमा जति पनि सडकलगायतका संरचना बनेका छन्, ती वन्यजन्तुमैत्री छैनन् । निकुञ्ज क्षेत्रभित्र पूर्वाधार निर्माण गर्दादेखि नै वन्यजन्तुमैत्री संरचना तयार गर्न सकिएको भए अनाहकमा न मान्छेको ज्यान जाने थियो, न वन्यजन्तुकै । देशभरका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट दुवैतर्फ क्षति बढ्दै जाँदा सरोकारवालाले चासो देखाउनु आवश्यक देखिएको छ ।

- ADVERTISEMENT -