– बबिलाल तामाङ
चितवन । भूमि समस्या समाधान आयोग चितवनका नवनियुक्त अध्यक्ष इमानसिंह लामाले पदभार ग्रहण गरेका छन् । राप्ती नगरपालिका निवर्तमान उपमेयर तथा समाजसेवी लामाले बिहीबार पदभार ग्रहण गरी आफ्नो कार्यकक्ष सम्हालेका हुन् ।
पदभार ग्रहण पश्चात अध्यक्ष लामाले चितवन जिल्लामा रहेका भूमिहीन जनताहरुलाई न्याय दिनको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारले निर्माण गरेको कानुन, ऐन र कार्यविधि अनुसार भूमि समस्या समाधान गर्न पहल गर्ने उनको भनाइ थियो ।
उनले वर्षौदेखि भूमिहीन भएकाहरुको पीडा मसिनो ढंगबाट अध्ययन गरेको बताए । आगामी दिनमा आफ्नो बुद्धि र विवेकले भ्याएसम्म कुनै कसुर नराखी भूमिहिन जनताको निम्ति लागि पर्ने उनले बताए ।
अध्यक्ष लामा नेपाल तामाङ बुद्धिजीवी वर्ग समूहका प्रमुख सल्लाहकार समेत रहेका उनी लुम्बिनी बिकास कोषका कार्यकारी प्रमुख समेत भए ।
लुम्बिनी विकास योजनालाई बढी समन्वयात्मक र सुचारु रुपले संचालन गर्न महत्वपूर्ण योगदान साथै प्रमुख भूमिका निभाएको भन्दै अन्तर्राष्ट्रियस्तरबाटै उनी सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले भूमिहीन जनताको पक्षमा सबै पक्षको हातेमालो र समन्वय जरुरी रहेको बताए ।
कार्यक्रम जिल्ला समन्वय समिति चितवनका सभापति नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले नवनियुक्त अध्यक्ष लामाको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । भूमिहीन समस्या समाधानका निम्ति आवश्यक सल्लाह सुझाव र समन्वयका लागि सँगसँगै रहने बताए ।
कार्यक्रममा भूमि समस्या समाधान आयोग चितवनका पूर्व अध्यक्ष बद्रि तिमिल्सिना, नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष लामालाई बधाई तथा शुभकामना व्यक्त गर्न तामाङ समुदायका विभिन्न संघसंगठनहरुका प्रमुखहरु, राजनीतिक दलका नेताहरु, सरकारी कार्यालयका प्रमुखहरु एवम् शुभचिन्तकहरु लगायतको ओइरो नै लागेको थियो ।
विगत लामो समयदेखि दुःखी, गरिब र सहाराविहीनहरुको सहारा बन्दै आइरहेका लामाले राप्ती नगरपालिकाको उपमेयरमा रहँदा आफूले पाएका सबै सेवा सुविधा वापतको भत्ता खर्चहरु दुःखी, गरिव, असहाय, अपाङ्गलगायत एकल महिलाहरुको लागि सहयोग गर्नुका साथै ६ वटा घर निर्माण गरी हस्तान्तरण गरेका हुन् ।
कोभिड महामारीको समयमा २२७ जना बिरामीहरुलाई प्रत्यक्ष रुपमा आफैं सहभागी भई हस्पिटलसमा लाने र लैजाने साथै उपचार कार्यमा सहयोग गरेका थिए ।
हालसम्म पनि उनले आफ्नो सहयोगी हातलाई निरन्तरता दिइरहेका उनी सहयोगी र उदारवादी भावना भएका जनप्रिय नेताका रुपमा परिचित छन् ।