– बबिलाल तामाङ
चितवन । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ५, साचकका सय वर्षका जयराम प्रजा र उनकी श्रीमती वर्ष ९० का लक्ष्मी प्रजाले नयाँ घर पाएका छन् ।
पूर्वसहरी विकास मन्त्री तथा कार्यक्रमकी प्रमुख अतिथि रामकुमारी झाँक्रीले शनिबार एक कार्यक्रमका बीच वृद्ध प्रजा दम्पतीलाई हात समातेर डोर्याउँदै घरभित्र प्रवेश गराएकी हुन् ।
सो अवसरमा बोल्दै मन्त्री झाँक्रीले जनता आवास कार्यक्रमको कार्यविधि गरिब र विपन्नमुखी नभएकाले कार्यविधि नै संशोधन गर्नुपर्ने बताइन् ।

भूमि आयोगहरू बनेपनि चेपाङ, राउटे, वनकरिया जस्ता सीमान्तकृत र लोपोन्मुख समुदायको समस्या हल नभएको उनको भनाइ थियो ।
उनले जनता आवासको कार्यविधि नै संशोधन गर्न आवश्यक रहेको जिकिर गर्दै मकवानपुरको राक्सिराङमा चेपाङ समुदायको बाहुल्यता बढी भएको बताइन् ।
सरकारको जनता आवास कार्यक्रमअन्तर्गत भवनहरू निर्माणाधीन अवस्थामा भए पनि उनीहरू उक्त कार्यक्रमबाट नै बन्चित भएको झाँक्रीले दुखेसो गरिन् ।

गोरखा घर भएका सामाजिक अभियन्ता रेखा तामाङको अगुवाईमा जयराम दम्पतीलाई पोखरा घर भई अमेरिका बस्दै आएका कर्ण गुरुङको परिवारले नयाँ पक्की घर बनाइदिएका हुन् ।
अभियन्ता रेखाका अनुसार ३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको हो । जयराम दम्पत्तीलाई नगद २ लाख ४२ हजार रुपैयाँ थप खर्चका लागि उपलब्ध गराएको उनले जानकारी दिइन् ।
नवनिर्मित घरमा सोलार पनि जोडिएको छ भने पिउने पानीको धारा र पक्की शौचालय पनि निर्माण गरिएको छ । भुइँमा कार्पेट बिच्छ्याएको र बिस्तरासहितको २ वटा पलङ उपलब्ध गराइएको छ ।

नयाँ घर पाएपछि जयराम दम्पत्ती निकै हर्षित भएका छन् भने उनीहरुले चेपाङ भाषामा ‘किम दोती आसतेआया’ (घर पाउँदा खुसी लाग्यो) भन्दै खुशी व्यक्त गरे ।
२०७८ को जनगणना अनुसार मुलुकका २६ जिल्लामा बसोबास रहेको चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ छ । मकवानपुरमा २३ हजार ६ सय ५०, चितवनमा ३५ हजार ६ सय ३७, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ जनसंख्या छ ।