काठमाडौं । नागरिक एपमा मंगलबारदेखि राष्ट्रिय परिचयपत्र राखिएको छ ।
सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलका अनुसार नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि परिचयपत्र एपमा राखिएको हो ।
उनले भने, ‘हामीले मंगलबार दिउँसोबाट नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देखिने गरी ल्याएका छौं । अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र त्यहाँ हेर्न सकिनेछ ।’
उनका अनुसार नागरिक एपभित्र ‘नेसनल आईडी’ अप्सनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर (निन नम्बर) राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । गत कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलका अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपलाई थप प्राविधिक परीक्षण गरिएपछि प्रयोगमा ल्याइएको हो ।
उनले भने, ‘सूचना प्रविधि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आवश्यक सबै परीक्षणपछि राष्ट्रिय परिचयपत्र सबै नागरिकले अनुभूत हुनेगरी सार्वजनिक गरेका छौं ।’ सूचना प्रविधि विभाग र नागरिक एपबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो ।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण दर्ता भइसकेको र हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको बताइएको छ ।
अब राष्ट्रियपत्र नम्बर (निन) पाएका १ करोड ६१ लाख नागरिकले राहदानी, बैंक अकाउन्ट, टेलिकमको सिमकार्ड लगायतका सेवा सहजै लिन पाउनेछन् ।