April 20, 2025

फोनिज चितवनको पहिलो बैठक : अक्षयकोष र पुरस्कार स्थापनामा जोड

February 16, 2025
- ADVERTISEMENT -

चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति चितवनले अक्षयकोष स्थापना गर्ने भएको छ । फोनिजको कार्यालयमा शनिबार बसेको कार्यसमितिको पूर्ण बैठकले संस्थालाई थप क्रियाशील बनाउनुका साथै आदिवासी जनजाति समुदायको खबर सम्प्रेषण गर्नका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङका अनुसार फोनिजले निकट भविष्यमा अनलाइन डिजिटल पत्रिका प्रकाशनमा ल्याउने योजना रहेको हुँदा त्यसलाई पनि टेवा पुग्ने लक्ष्यसहित अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । ‘संस्थाले एउटा लक्ष्य राखेर अक्षयकोष स्थापना गर्ने योजना अघि सारेको छ’, उनले भने, ‘कम्तीमा वर्तमान कार्यसमितिले सुरूवात गर्न सकेमात्रै पनि त्यसपछिको नेतृत्वले पूर्णता दिन सक्छ ।’

त्यसबाहेक संस्थाले आदिवासी जनजाति समुदायको समाचार लेखन, सम्पादन तथा प्रकाशन, प्रसारणमा महŒवपूर्ण योगदान दिने पत्रकार तथा सञ्चारकर्मीलाई प्रोत्साहन दिलाउनका लागि पुरस्कार स्थापना गर्ने योजनासमेत अघि सारेको छ । ‘स्थापना भएको करिब डेढ दशक भइसक्यो, अहिलेसम्म फोनिजले पुरस्कार स्थापना गर्न सकेको छैन । त्यसैले पनि यो कार्यकालभित्र कम्तीमा एउटा पुरस्कार स्थापना गर्ने लक्ष्य राखेका हौँ’, सचिव आशिक रानामगरले भने ।

संस्थाले आफ्ना सदस्यहरुलाई क्षमता अभिवृद्धि गराउनका लागि आवश्यकताअनुसार तालिम सञ्चालन गर्ने उनले बताए । ‘संस्थालाई स्थापना गरेर यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्नुहुने संस्थापकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरेका छौँ’, सचिव मगरले भने, ‘संस्थाको स्थापनाकालदेखि योगदान दिएका व्यक्ति र नयाँ सदस्यबीचको सम्बन्धलाई निकट बनाइराख्न पनि त्यस्ता कार्यक्रमले विशेष भूमिका खेल्न सक्छ ।’ त्यसबाहेक संस्थाले गर्नुपर्ने नियमित क्रियाकलापलाई पनि निरन्तरता दिँदै जाने फोनिज चितवनले जनाएको छ ।

यसैबीच बैठकले सल्लाहकारहरुमा ५ जनालाई चयन गरेका छन् । फोनिजका उपाध्यक्ष उर्गेन तामाङका अनुसार सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष रमेश रानामगर, संस्थापक अध्यक्ष एवं संरक्षक सन्तकुमार चौधरी र पूर्वअध्यक्ष सन्दीपकुमार श्रेष्ठसँगै नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा र नेपाल आदिवासी जनजाति युवा महासंघ चितवनका अध्यक्ष सागर कुमाललाई सल्लाहकार समितिमा चयन गरिएको हो ।

फोनिज चितवनको गत माघ १९ गते सम्पन्न पाँचौँ अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले शनिबार पूर्ण बैठक बसेर भावी कार्ययोजनामाथि छलफल गरेको हो । २०६७ सालमा स्थापना भएको फोनिज चितवनमा हाल ११५ जना साधारण सदस्य आबद्ध छन् ।

- ADVERTISEMENT -