April 20, 2025

अम्बर एभरेष्ट स्कुलले मनायो ४३औं वार्षिकोत्सव

कक्षा ९ का छात्रा पन्थीसहित विभिन्न व्यक्तित्वहरु सम्मानित
February 25, 2025
- ADVERTISEMENT -

– बबिलाल तामाङ

चितवन / भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित चार दशक बढीदेखि शिक्षा क्षेत्रमा अनवरत अम्बर एभरेष्ट इङलिस स्कुलले वार्षिकोत्सव मनाएको छ । मंगलबार ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको स्कूलका अध्यक्ष तथा पूर्व प्राचार्य हरिप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रमको शिशु फटिलिटी क्लिनिकका आईभीएफ स्पेशलिष्ट, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा शुभ श्रेष्ठले दियो प्रज्वलन गरी उद्घाटन गरिन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा श्रेष्ठ यसै स्कूलका पूर्व विद्यार्थी पनि हुन् ।

कार्यक्रमको उद्घाटन पश्चात् बोल्दै डा श्रेष्ठले गुरुहरुले सिकाएको हरेक शिक्षाहरु बालबालिकाहरुले शतप्रतिशत ग्रहण गर्ने बताइन् । हरेक बालबालिकाका लागि पढ्ने आत्मबल गुरुबाट नै आउने हुँदा उनीहरुको मार्गदर्शक नै गुरु भएको उनको भनाइ थियो ।

वार्षिकोत्सवको शुभ अवसरमा सहभागी हुन पाउँदा उनले खुशी व्यक्त गर्दै आफूलाई विद्यार्थी नै भएको महसुस गरिन् ।

स्कूलका प्राचार्य भविन्द्र कन्दङ्वाले शैक्षिक गतिविधि र भावी रणनीतिका बारेमा प्रकाश पारेका थिए । उनले हरेक बालबालिकाको पहिलो पाठशाला नै घर भएको बताउँदै सबै अभिभावकलाई ध्यानआकृष्ट गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि शुभ श्रेष्ठ, स्कूलका अध्यक्ष हरिप्रसाद अधिकारी, प्राचार्य भविन्द्र कन्दङ्वालगायतले कक्षा ९ अध्ययनरत कृति पन्थीलाई प्रमाणपत्र र रु ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

यस्तैगरी सोही अवसरमा सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुको आवास, स्कूलमा लामो समयदेखि अध्यापनरत शिक्षिकाहरुलाई सम्मानित तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा साना साना बालबालिकाहरुले स्वागत गीत तथा विभिन्न नृत्यहरु पस्केर मनोरंजन दिलाए भने कक्षा ९ की छात्रा कृति पन्थीले स्वागत मन्तव्य व्यक्त गरिन् ।

कार्यक्रममा भरतपुर माध्यमिक विद्यालयका प्राचार्य खेमनारायण पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष भगवती पौडेल, स्याउलीबजार टोल सुधार समितिका अध्यक्ष रामबाबु श्रेष्ठलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रम अम्बर एभरेष्ट इङलिस स्कुलका अध्यक्ष हरिप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो भने सहप्राचार्य मधुसूदन पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

वि.सं. २०३८ सालमा अम्बर एभरेष्ट इङलिस स्कुल स्थापित भएको हो ।

- ADVERTISEMENT -