March 15, 2025
- ADVERTISEMENT -

जेलेन्स्की र ट्रम्पको आरोप–प्रत्यारोप, ह्वाइट हाउसको वार्ता तनावग्रस्त

March 1, 2025

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्ता तनावग्रस्त बनेको छ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स समेत उपस्थित रहेका थिए ।

वार्ताको सुरुवात औपचारिक अभिवादनबाट भए पनि कुराकानी अघि बढ्दै जाँदा दुबै नेताबीच आरोप–प्रत्यारोप हुन थाल्यो । राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिएको अमेरिकी सहयोगबारे प्रश्न उठाउँदै तेस्रो विश्वयुद्ध निम्त्याउने प्रयास भइरहेको आरोप लगाए । उनले अमेरिकाले सहयोग नगरे युक्रेन–रुस युद्ध दुई सातामा समाप्त हुने दाबी गरेपछि वार्ताको माहोल झन् तनावपूर्ण बन्यो ।

ट्रम्पको आरोपहरूप्रति असहमति जनाउँदै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सुरक्षाका लागि अमेरिका महत्त्वपूर्ण साझेदार रहेको र सहयोग जारी रहनुपर्ने बताए । तर, जब ट्रम्पले कठोर शब्द प्रयोग गर्दै जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न आग्रह गरे, तब जेलेन्स्की बैठक छोडेर निस्किए ।

वार्ताको अप्रत्याशित अन्त्यपछि ह्वाइट हाउस र अन्तर्राष्ट्रिय समुदायमा विभिन्न प्रतिक्रिया आएका छन् । जेलेन्स्कीले अमेरिकाले अहिलेसम्म प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै युक्रेन(अमेरिका सम्बन्ध कुनै एक नेताको व्यक्तिगत सम्बन्धभन्दा माथि रहेको बताएका छन् ।

ट्रम्प र जेलेन्स्कीबीचको भनाभनले अमेरिका र युक्रेनबीचको सम्बन्धमा असर पार्ने देखिएको छ । युरोपेली संघका कूटनीतिज्ञहरूले यस घटनालाई गम्भीर रूपमा लिएका छन् । नाटोका महासचिवले युक्रेनलाई सहयोग जारी राख्नुपर्नेमा जोड दिएका छन् ।

यस घटनाले अमेरिका र युक्रेनबीच प्रस्तावित खनिज सम्झौतामा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । प्रारम्भिक वार्ताहरू सकारात्मक दिशामा गए पनि अहिले सम्झौता स्थगित भएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्र्थ सोसलमा जेलेन्स्कीलाई कटाक्ष गर्दै अमेरिकी नागरिकहरूको अपमान गरेको आरोप लगाएका छन् । उनका समर्थकहरूले ट्रम्पको भनाइको समर्थन गरेका छन् भने विपक्षीहरूले यो घटनालाई कूटनीतिक असफलता भनेका छन् ।

यता, युक्रेनी अधिकारीहरूले ट्रम्पको टिप्पणीको खण्डन गर्दै युक्रेनले लोकतन्त्र र सार्वभौमिकताको पक्षमा संघर्ष गरिरहेको बताएको छ ।

विश्लेषकहरूका अनुसार, अमेरिकी सहयोगबिना युक्रेनको सुरक्षामा गम्भीर असर पर्न सक्छ । युक्रेनले अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन सक्ने अनुमान गरिएको छ ।

यस घटनाले आगामी अमेरिकी राष्ट्रपति चुनावमा पनि प्रभाव पार्ने संकेत देखिएको छ । ट्रम्पको कूटनीतिक शैली र युक्रेनप्रति उनको धारणा चुनावी बहसको मुख्य विषय बन्न सक्छ ।

- ADVERTISEMENT -