चितवन / नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अन्जिला’ प्रदर्शनमा आउने भएको छ ।
आउँदो फागुन २९ गते फागुपूर्णिमाको दिन पारेर ‘अन्जिला’को देशैभर प्रदर्शन गरिने नारायणगढमा पत्रकार सम्मेलन मार्फत फिल्मका निर्देशक मिलन चाम्सले जानकारी दिए ।
पत्रकार सम्मेलनमा निर्देशक चाम्सले चलचित्रमा एन्जिलाले राष्ट्रिय टिमको कप्तान हुँदासम्मको कथालाई उतारिएको बताए । मिलन चाम्स निर्देशित यस चलचित्रमा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको भूमिकामा देखिएकी छिन् । सुनिल थापा (रातेकाइँला) कोचको भूमिकामा छन् । माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल कलाकार पनि फिल्ममा अनुबन्धित छन् ।
फिल्मको शीर्ष भूमिकामा एन्जिलाले अभिनय गरेकी छिन् । प्रेमकुमार श्रेष्ठको निर्माण रहेको फिल्मलाई सुदीप बरालले छायाकंन गरेका हुन् । कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले संयुक्त रुपमा लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको नृत्य छ ।
एन्जिला हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी छिन् भने दर्शकले फिल्मलाई अत्यधिक रुचाई दिने निर्माण पक्षको दावी छ । नेपालमा हालै सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पिसियन फुटबलले पनि फिल्मलाई सकारात्मक प्रभाव पर्ने निर्देशक चाम्सको विश्वास छ ।