April 20, 2025

राजसंस्था समर्थक नेताहरूबीच एकअर्कामाथि आरोप–प्रत्यारोप

March 12, 2025
- ADVERTISEMENT -

काठमाडौं / राजसंस्था पुनःस्थापनाको मागसहित सडकमा उत्रिएका विभिन्न राजावादी समूहबीच फुट देखिन थालेको छ । आइतबार काठमाडौंमा सम्पन्न ठूलो प्रदर्शनको श्रेय कसलाई जान्छ भन्ने विषयलाई लिएर नेताहरू एकअर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनको मुख्य श्रेय आफूलाई जानुपर्ने दाबी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि आक्रोश पोखे । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने माहोल आफूले निर्माण गरेको बताउँदै अन्य नेताहरूलाई फगत अवसरवादी मात्र भएको आरोप लगाए ।

प्रसाईंले संविधान निर्माणको बेला राप्रपाका नेताहरूले गरेको निर्णय नै राजसंस्था हट्नुको मुख्य कारण भएको आरोप लगाए । ‘२०७२ मा संविधान जारी गर्दा राप्रपाका नेताहरूले त्यसमा हस्ताक्षर नगरेको भए न राजसंस्था हट्थ्यो, न हिन्दू अधिराज्य समाप्त हुन्थ्यो,’ उनले भने ।

उनले राजसंस्थालाई पुनःस्थापित गर्न सक्ने एकमात्र व्यक्ति आफू भएको जिकिर गर्दै पूर्वराजालाई सही निर्णय लिन आग्रह गरे ।‘‘राजाले पनि बुझ्नुपर्छ, कलीयुगमा दुर्गा प्रसाईं जत्तिको अर्जुन भेट्नुहुन्न,’ उनको भनाइ थियो ।

प्रसाईंले विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग लिङ्देन र थापाले गरेको भेटघाटप्रति असन्तोष जनाउँदै आफूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले आइतबारको जुलुसपछि राप्रपालाई फोहोर गरेको अभियोगमा जरिवाना गराएपछि पनि उनी असन्तुष्ट देखिए । आन्दोलनको व्यवस्थापन आफूले गरे पनि जस अरूले लिएको उनको आरोप छ ।

यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै उनले अहिलेको व्यवस्थामा देखिएको सिण्डिकेट, लुटतन्त्र र अराजकताविरुद्ध आवाज उठाउनु आवश्यक भए पनि समाधान लोकतन्त्रभित्रै खोजिनुपर्ने बताए ।

थापाले राजासहितको लोकतन्त्रलाई एक प्रभावकारी व्यवस्था बताउँदै बेलायत, जापान, नर्वे जस्ता मुलुकहरूको उदाहरण पेश गरे । ‘राजासहितको प्रजातन्त्र विश्वमै सफल मानिएको छ। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन,’ उनले लेखेका छन् ।

यसरी, राजसंस्था पुनःस्थापनाको आन्दोलन व्यापक बन्दै गए पनि नेतृत्व तहमा विभाजन देखिन थालेको छ । जस लिने प्रतिस्पर्धाले आन्दोलनको एकतामा असर पर्ने संकेत देखिएको छ ।

- ADVERTISEMENT -