March 15, 2025
- ADVERTISEMENT -

मौसम खराबले जहाज आकाशमै घुम्न बाध्य, उडान बन्यो प्रभावित

March 13, 2025
file photo.

काठमाडौं / खराब मौसमका कारण बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा ठूलो असर परेको छ । कम भिजिबिलिटी र तीव्र गतिमा बहने हावाले विमानहरूलाई सुरक्षित रूपमा अवतरण गर्न कठिन बनाएको विमानस्थल प्रशासनले जनाएको छ ।

मौसम प्रतिकूलताका कारण कतिपय अन्तर्राष्ट्रिय उडानहरू आकाशमै घुम्न बाध्य भए भने केही विमानलाई वैकल्पिक गन्तव्यतर्फ मोड्नुपरेको थियो । मलेसियाबाट आएको बाटिक एयरको जहाज काठमाडौं आकाशमा छ पटक घुमेपछि अवतरण गर्न खोज्दा असफल भएपछि ढाकातर्फ डाइभर्ट गर्नुपरेको थियो । त्यसैगरी, कतार एयरवेजको जहाज पनि ओभरसुट गर्दै आठ(नौ पटक फन्को मारेपछि साँझ ६.१० बजे मात्र त्रिभुवन विमानस्थलमा अवतरण गर्न सफल भयो । उक्त जहाजको निर्धारित अवतरण समय ४.४५ बजे थियो ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बुधबार बिहान भिजिबिलिटी १६०० मिटर थियो, जसले दिउँसो केही समय सुधार भई ५००० मिटरसम्म पुगे पनि पुनः घटेको थियो । मौसम खराब भइरहेकाले विमानहरूलाई एक घण्टाभन्दा बढी आकाशमै होल्ड गर्नुपर्ने अवस्था सिर्जना भयो । साँझपख ट्राफिक चाप बढ्दै गएपछि विमानस्थलमा उडान अवतरणको तालिका अस्तव्यस्त भएको थियो ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार तीन बजेपछि उडानहरू एकसाथ थुप्रिए, जसले गर्दा कतिपय विमान मिस एप्रोच गर्न बाध्य भए । ‘बुधबार हावाको चापका कारण जहाज सहज रूपमा ल्यान्ड हुन सकेनन्,’ उनले भने ।

विमानस्थलको उडान व्यवस्थापन प्रणाली अनुसार ५००० मिटरभन्दा बढी भिजिबिलिटी भएमा भिएफआर (Visual Flight Rules – VFR) प्रणाली प्रयोग गरिन्छ भने कम भएमा आइएफआर (Instrument Flight Rules – IFR) प्रणाली अपनाइन्छ ।  आइएफआर प्रणालीमा एउटै बाटो प्रयोग गर्नुपर्ने भएकाले अवतरणको गति ढिलो हुने महाप्रबन्धक निरौलाले जानकारी दिए ।

खराब मौसमकै कारण धेरै अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भए । दुबईबाट आएको फ्लाई दुबईको जहाज सात पटक फन्को मारी ५.३४ बजे मात्र अवतरण गर्यो । कोरियन एयरको जहाजले सात फन्को मारेपछि ६.१८ बजे अवतरण गर्न सक्यो । त्यस्तै, बिमान बंगलादेशको जहाजले पाँच फन्को मारेपछि ६.२४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्यो ।

दुबईबाट आएको अर्को फ्लाई दुबईको जहाज ६.२० बजे ल्यान्ड गर्ने तालिका भए पनि सात फन्को मारी ६.४८ बजे मात्र अवतरण गर्न सक्यो । मुम्बईबाट आएको नेपाल वायुसेवा निगमको जहाजलाई पनि केही समय होल्ड गर्नुपरेको थियो ।

आन्तरिक उडानहरूमा समेत असर परे पनि डाइभर्ट भने गर्नुपरेको थिएन । बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीका अनुसार दिनभर नै उडान व्यवस्थापन अस्तव्यस्त रह्यो । श्री एयरका प्रवक्ता अनिल मानन्धरले पनि खराब मौसमका कारण अधिकांश उडानहरू ढिलाइ भएको जानकारी दिए ।

विमानस्थल प्रशासनले मौसम प्रतिकूलताका कारण यात्रुहरूले धैर्य राख्नुपर्ने र उडान तालिका प्रभावित हुन सक्ने बताएको छ । मौसममा सुधार आएपछि मात्र नियमित उडान सञ्चालन सहज हुने विमानस्थल स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -