चितवन / डोल्पाको सामाजिक कथामा आधारित नेपाली चलचित्र ‘द्रौपदी’ यही चैत ८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । कमलनगर, नारायणगढको होटल हेप्पी होममा आज (शनिबार) पत्रकार सम्मेलन मार्फत चैत ८ गतेदेखि प्रदर्शन हुन गइरहेको चलचित्र ‘द्रौपदी’का निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।
पत्रकार सम्मेलनमा आचार्यले चलचित्रभित्र डोल्पाको ग्रामीण परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको बताए । चलचित्रले महिला संवेदनासँग सम्बन्धित कथावस्तुलाई उठान गर्दै कर्णालीको मौलिक र विशिष्ट कथालाई उजागर गर्ने प्रयास गरेको उनको भनाइ छ ।
उनका अनुसार शुक्रबार सार्वजनिक भएको चलचित्रको ट्रेलरले द्रौपदी नेपाली ग्रामीण बस्तीको अवस्था र जनजीवनको कथा बोकेको संकेत गर्छ । चलचित्रमा स्थानीय समुदायले भोग्नुपरेका विभिन्न चुनौतीहरूको यथार्थ चित्रण गरिएको उनले भने ।
दौपद्रीको छायांकन डोल्पाको प्रसिद्ध शे–फोक्सुण्डो ताललगायत कर्णालीका विभिन्न रमणीय स्थानमा गरिएको चलचित्रका निर्माता प्रकाश ज्ञवालीले बताए । देश दौडाहामा निस्किएको चलचित्रका निर्माण टिमले प्रचार–प्रसारलाई तीव्र बनाउँदै लगेको छ ।
चलचित्रले नेपाली समाजको यथार्थ कथा प्रस्तुत गर्नुका साथै नेपालको प्राकृतिक सौन्दर्यलाई पनि दर्शाउने निर्माता ज्ञवालीले बताए । सामाजिक कथावस्तुमा आधारित द्रौपदी गम्भीर विषय उठान गर्ने महिला संवेदनासँग जोडिएको चलचित्र भएको उनले भने ।
चलचत्रिमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी तथा निर्देशक ऋषिराज आचार्य स्वयंको अभिनय रहेको छ । फिल्मको छायांकन कर्णालीका विभिन्न आकर्षक स्थानहरूमा गरिएको छ, जहाँ सदरमुकामबाट तीन दिन पैदल यात्रा गरेर पुग्नुपर्ने शे–फोक्सुण्डो ताल मुख्य रहेको चलचित्र निर्माण टिमले जनाएको छ ।