गोरखा । अजिरकोट गाउँपालिका वडा नं.३ स्थित भच्चेक आधारभूत अस्पतालमा मङ्गलबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । तीन दिनसम्म चल्ने शिविरमा मङ्गलबार पहिलो दिनमात्रै ६५ महिलासहित १३८ जनाले बहिरङ्ग सेवा लिएका छन् ।
पहिलो दिनको शिविरमा आँखा जाँच गराएकामध्ये २९ जनाको आँखा जाँचपछि शल्यक्रिया गरिएको शिविरका संयोजक धनबहादुर गुरूङले जानकारी दिए ।
पहिलो दिन नै विगत चार वर्षदेखि दृष्टि गुमाएकी अजिरकोट–५, मुच्चोक साउनेपानीकी ९० वर्षीय सुकमाया सुनारको आँखासमेत शल्यक्रिया गरिएको उनले बताए । मुटु फाउण्डेशन, काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा अजिरकोट गाउँपालिकाले आँखा शिविर आयोजना गरेको हो ।
चैत ७ गतेसम्म सञ्चालन हुने शिविरमार्फत् नेपाल आँखा अस्पतालका त्रिपुरेश्वरका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा किरण शाक्यको समूहले सेवा दिइरहेको छ । अजिरकोट गाउँपालिकाका स्थानीय लक्षित कार्यक्रममा आँखा पाकेको, रातो भएको मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया र निःशुल्क औषधि वितरण गरिएको शिविरका संयोजक गुरूङले जानकारी दिए ।
शल्यक्रिया गरेका बिरामीलाई जाउलो र चियापानसहित बसोबासको लागि समेत निःशुल्क व्यवस्थापन गरिएको उनले बताए । शल्यक्रिया गरेपछि धुलो, धुवाँबाट आँखालाई सुरक्षित राख्नको लागि कालो चस्मासमेत निःशुल्क प्रदान गरिएको उनले बताए ।