काठमाडौँ । सर्वोच्च अदालतले थुनामा रहेका रवि लामिछानेको मुद्दामा विद्युतीय फाइल तयार गर्न आदेश दिएको छ ।
पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको मुद्दामा उच्च अदालत र जिल्ला अदालत दुवैबाट मुद्दाका कागजपत्र झिकाउने आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले आइतबार प्रारम्भिक सुनुवाइ सकेपछि उच्च अदालतले थुनामा पठाउन गरेको आदेशको निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन माग गरेको हो ।
यस्तै जिल्ला अदालत रुपन्देहीलाई मुद्दाको मिसिलमा संलग्न सबै कागजातको विद्युतीय फाइल तयार पारेर १५ दिनभित्र सफ्टवेयरमा अनिवार्य राख्न पत्राचार गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको छ ।
यस्तै सर्वोच्चले १५ दिनभित्र कैफियत प्रतिवेदन प्राप्त भइसकेपछि पेसीको सूचना सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार गर्न पनि भनेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त आदेशविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधका अभियुक्त लामिछानेको तर्फबाट शुक्रवार सर्वोच्चमा निवेदन दर्ता भएको थियो ।