२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

प्रकाशित मिति : २०८२ बैशाख १२ गते
file photo.
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । सङ्घीय र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण कार्य सुरु गरेको उक्त रङ्गशालाको महानगरपालिकाले अपनत्व लिई काम अघि बढाएको हो भने हिमालयन कालिन्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा ‘प्याराफिट’मध्ये एउटाको ढलाइ सम्पन्न गरिएको छ । अर्को ढलानको तयारीमा छ । दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदै छ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ०८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए ।

छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनले बताए । गत साउनमा बिबिआर जेभीले निर्माण सुरु गरेको हो । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको हो ।

गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले रु २५ करोड र प्रदेश सरकारले रु १० करोड उपलब्ध गराइसकेका छन् । प्रदेश सरकारले ७० प्रतिशत र सङ्घीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रङ्गशालाको काम अघि बढेको हो । अन्तरराष्ट्रियस्तरको मापदण्डअनुसार रङ्गशाला निर्माण भइरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तरराष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ ।

त्रिभुवन विश्व विद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० विघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको छ । गर्मी भएकाले साँझ र रात्रिकालीन समयमा समेत खेल खेलाउन बत्तिको व्यवस्था गर्न महानगरपालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको बताइन् । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण भइरहेको प्रमुख दाहालले जानकारी दिए । सम्झौता अवधिभित्रै काम सम्पन्न हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -