काठमाडौं / विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै लामो समयदेखि आन्दोलनरत शिक्षक र सरकारबीच शनिबार वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता प्रारम्भ भएको हो ।
शुक्रवार साँझ शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेपछि केही शिक्षक प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै उनीहरू गेटमै विरोध जनाएर फर्किएका थिए । आज भने बिहानैदेखि शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय पुगेका छन् र वार्ता औपचारिक रूपमा सुरु भएको हो ।
गत वर्षको चैत २५ गतेदेखि शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरूले माग पुरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै आएका छन् ।