पाल्पा / रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् ।
लु १ ज २३७७ नम्बरको जिप असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै सडकबाट झण्डै २०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
गम्भीर घाइते पाँच जनालाई तत्कालै तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा रैनादेवी छहरा–१ का ३६ वर्षीय दीपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।