काठमाडौं / सरकार र नेपाल शिक्षक महासंघबीच शिक्षक आन्दोलन अन्त्यको प्रयासस्वरूप जारी वार्ता फेरि निष्कर्षविहीन बनेको छ । मंगलबार राति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न वार्ता बिना ठोस सहमति टुंगिए पनि दुवै पक्षले छलफल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।
शिक्षामन्त्री रघुजी पन्तले वार्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै, ‘शिक्षक महासंघसँगको संवाद सकारात्मक ढंगले अघि बढेको छ। वार्ता जतिसक्दो छिटो निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौं,’ भनेका छन् ।
शिक्षक महासंघ पनि वार्तामा सकारात्मक शैलीमा प्रस्तुत भएको मन्त्री पन्तले बताए । मङ्गलबार राति ८ बजेदेखि सुरु भएको वार्ता साढे १० बजेसम्म चलेको थियो । वार्तामा शिक्षामन्त्री पन्तसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकको समेत सहभागिता रहेको थियो ।
शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीले वार्तामा भाग लिएको थियो । यसअघि सोमबार पनि सरकार र महासंघबीच छलफल भएको थियो, जुन दुवै पक्षले सकारात्मक भएको बताएका थिए ।
महासंघले आफ्नो पेशागत तथा श्रम अधिकारसम्बन्धी विभिन्न मागहरू राख्दै गत चैत २० गतेदेखि आन्दोलन थालेको हो । आन्दोलनले देशभरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनाएको छ, जसका कारण शैक्षिक सत्र २०८२ को सुरुवातदेखि नै कक्षाहरू नियमित सञ्चालनमा आउन सकेका छैनन् ।