२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर मनाइँदै

प्रकाशित मिति : २०८२ बैशाख १८ गते
- ADVERTISEMENT -

काठमाडौं / विश्वभरका श्रमिकहरूको योगदानको सम्मानस्वरूप आज (बिहीबार) अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमका साथ मनाइँदै छ । दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

श्रमिक दिवसको इतिहास सन् १८८६ मा अमेरिकाको शिकागो शहरमा भएको ऐतिहासिक मजदुर आन्दोलनसँग जोडिएको छ । ‘आठ घन्टा काम, आठ घन्टा विश्राम र आठ घन्टा मनोरञ्जन’ भन्ने नाराका साथ सुरु गरिएको आन्दोलनले श्रमिक अधिकारका लागि विश्वव्यापी चेतना फैलाएको थियो ।

शिकागोको हेय मार्केटमा भएको बम विस्फोटपछि आन्दोलन हिंसात्मक मोडमा गएको थियो । यद्यपि बम विस्फोटको जिम्मा कसले लिएको भन्ने अझै स्पष्ट नभए पनि आन्दोलनमा संलग्न श्रमिकमाथि प्रहरीले कठोर दमन गर्यो । त्यस क्रममा प्रहरीको गोली लागेर सात जना श्रमिकको मृत्यु भयो । ती बलिदानीहरूपछि आन्दोलनले ऐतिहासिक सफलतासमेत हासिल गर्‍यो ।

यस ऐतिहासिक घटनाको सम्झनामा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक नेताहरूको अन्तर्राष्ट्रिय सम्मेलनले मे १ तारिखलाई विश्व श्रमिक दिवसका रूपमा मनाउने निर्णय गर्‍यो । त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि यस दिवसको ऐतिहासिक महत्व छ । वि।सं। २००७ सालमा विराटनगरमा सुरु भएको मजदुर आन्दोलनले पहिलोपटक श्रमिक दिवसको जग बसाएको थियो । यद्यपि वि।सं। २०४६ को राजनीतिक परिवर्तनपछि मात्र यो दिनलाई सरकारी रूपमा सार्वजनिक बिदा दिने प्रचलन सुरु गरिएको हो ।

नेपालभरका मजदुर संघ(संस्थाहरूले आजको दिनलाई अवसरका रूपमा लिँदै आफ्ना हक(अधिकार र सुरक्षाको मागसहित विविध कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । उनीहरूले सरकार तथा रोजगारदातासँग श्रमिक(मैत्री नीतिको माग राख्दै दबाब सिर्जना गर्ने जनाएका छन् ।

श्रमिकहरूको श्रम बिना राष्ट्रको विकास सम्भव छैन भन्ने सन्देश फैलाउने आजको दिन, श्रमिकहरूको सम्मान, सुरक्षासहितको रोजगार र न्यायपूर्ण श्रम प्रणाली स्थापनातर्फ सबैको ध्यान केन्द्रित गराउने दिनका रूपमा लिइँदै आएको छ ।

- ADVERTISEMENT -