काठमाडौं / साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउने नाममा माछापोखरी क्षेत्रमा बिहानैदेखि कडाइ गरेपछि सार्वजनिक यातायातसमेत प्रभावित भएको छ । महानगर प्रहरीको उपस्थितिका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्मबाट तीव्र आलोचना सुरु भएको हो ।
बिहानैदेखि महानगर प्रहरी माछापोखरी क्षेत्रको मुख्य सडकमा लस्करै उभिएका थिए । तरकारी व्यापारीलाई रोक्नका लागि सडकको दुबै छेउमा प्रहरीले घेरा हाल्दा बालाजु–माछापोखरी हुँदै गुड्ने सार्वजनिक सवारी साधनको आवागमन ठप्पजस्तै भएको छ ।
स्थानीयका अनुसार माछापोखरी क्षेत्रको सडक किनारमा साना किसान र खुद्रा व्यापारीहरूले दैनिक बिहान ४ बजेदेखि ७ बजेसम्म ताजा तरकारी तथा सामान बिक्री गर्दै आएका छन् । यसै क्रममा भीडभाडका कारण सवारी चलाउन कठिन भएको गुनासो आउँदै आएको थियो । महानगरपालिकाले यसअघि नै उनीहरूलाई सो स्थानबाट हट्न निर्देशन दिएको थियो । तर निर्देशन पालना नभएपछि आज प्रहरी आफैं सडकमा उत्रेर जबरजस्ती हटाउने प्रयास गरेको हो ।
तर, यस्तो कार्यप्रति स्थानीयवासी र सामाजिक टिप्पणीकारहरू आक्रोशित छन् । उनीहरूले ‘व्यवस्थापन’ को नाममा गरिब किसान तथा श्रमिकहरूलाई दमन गरिएको र सार्वजनिक यातायात नै अवरुद्ध पारेर आम नागरिकको हक हनन गरिएको आरोप लगाएका छन् । पत्रकार राजन कुइँकेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगर प्रहरीले सार्वजनिक यातायात नै रोकेर तमासा देखाएका छन् । केन्द्रदेखि स्थानीयसम्मका सरकार र सत्तालाई पुलिस राज्य कायम गरेर शक्ति र औकात प्रदर्शन जो गर्नुछ ।’
यता, महानगरपालिकाले भने सडकमै तरकारी व्यापार गर्न नदिने अडान दोहोर्याउँदै वैकल्पिक स्थानमा स्थानान्तरणको प्रक्रिया अगाडि बढाइने बताएको छ । साना किसान र असंगठित क्षेत्रका श्रमिकहरूलाई सहरबाट विस्थापित गर्ने कदमप्रति सर्वत्र चासो बढेको छ ।