काठमाडौं / नेपाल शिक्षक महासङ्घको आव्हानमा सुरु भएको २९ दिने लामो आन्दोलन स्थगित भएसँगै शुक्रबारदेखि देशभरका सामुदायिक विद्यालय पुनः सञ्चालनमा आएका छन् ।
विगत चैत २० गतेदेखि आफ्ना विभिन्न मागहरु राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशभरका सामुदायिक विद्यालयका पठनपाठन, भर्ना प्रक्रिया लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएका थिए । आन्दोलनरत शिक्षक संगठन र सरकारबीच वैशाख १७ गते ९ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिइएको हो ।
विद्यालय खुले पनि अधिकांश विद्यालयमा आज पहिलो दिन भएकाले विद्यार्थीको उपस्थिति न्यून देखिएको छ । यद्यपि केही विद्यालयहरुले भर्ना अभियान र नियमित कक्षा दुवै सञ्चालन गरेका छन् ।
यसबीच नेपाल विद्यालय कर्मचारी परिषद्ले भने शिक्षक महासङ्घ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै पुनः आन्दोलनको चेतावनी दिएको छ । परिषद्को राष्ट्रिय समितिले वैशाख १८ गते जारी विज्ञप्तिमा आफूहरुको माग समावेश नगरेको भन्दै सहमति र आन्दोलन फिर्तालाई अस्वीकार गरेको जनाइएको छ ।