काठमाडौं / अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा स्थानीय तह निर्वाचनको बेलादेखि सुरु भएको राजनीतिक विवाद झन् चर्किँदै गएको छ । सोही घटनाक्रमसँग जोडिँदै जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती शाहीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि अमानवीय तथा अपमानजनक व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।
उपप्रमुख शाही नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि हुन् । २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको दिन कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन । निर्वाचनको क्रममा सुरु भएको विवाद क्रमशः हिंसात्मक रूप लिँदै गएको र त्यसकै सिलसिलामा कांग्रेस र एमाले कार्यकर्ताबीच पटक–पटक झडप भएका छन् ।
यही झडपसँग सम्बन्धित रूपमा पञ्चदेवल विनायक–४ निवासी १३ वर्षीय विनोद शाहीको रहस्यमय मृत्युको घटनाले थप राजनीतिक र सामाजिक तरंग उत्पन्न गरेको थियो । २०७९ जेठ २१ गते घरनजिकैको जंगलमा मृत अवस्थामा फेला परेका शाहीको मृत्युको दोषारोपण दुबै राजनीतिक पक्षबीच जारी छ। एमाले कार्यकर्ताले कांग्रेस पक्षमाथि हत्या आरोप लगाउँदै आएको छ भने कांग्रेसले आरोप अस्वीकार गर्दै प्रतिवाद गर्दै आएको छ ।
उक्त घटनालाई लिएर जिल्ला अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा फागुन १८ गते दुबै पक्ष अदालत परिसरमा उपस्थित हुँदा विवाद झनै चर्किएको थियो । आपसी झडपका क्रममा उपप्रमुख शाही पक्षकी द्रोपति शाही घाइते भइन् भने अर्का साक्षी दिनेश नेपालीमाथि जातीय गालीगलौज गरिएको आरोपमा छुवाछूतसम्बन्धी मुद्दा समेत दर्ता भएको हो ।
पछिल्लो समय बखत शाही, गणेश शाही, रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाहीविरुद्ध अमानवीय व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएपछि रमेश, देवेन्द्र र ललितबहादुर शाही जनही १ लाख २५ हजार धरौटीमा रिहा भएका थिए। फरार रहेका बखत र गणेश शाही पनि अदालतमा उपस्थित भई क्रमशः २ लाख २५ हजार र १ लाख २५ हजार धरौटीमा छुटेका थिए ।
उनीहरूकै जाहेरीका आधारमा उपप्रमुख शाहीविरुद्ध मुद्दा दर्ता गरिएपछि वैशाख १७ गते प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार, पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा निर्वाचनपछिको द्वन्द्वका कारण हालसम्म ९७ जनाविरुद्ध फरक–फरक प्रकृतिका ८ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । ‘१० वर्ष मुनिका बालबालिकाबाहेक गाउँका सबै नागरिकको नाममा कुनै न कुनै मुद्दा परेको अवस्था छ,’ उनले बताए, ‘मेलमिलाप प्रयास असफल भएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो ।’