काठमाडौं / धनकुटाको गोठगाउँमा सोमबार भएको यात्रुबाहक बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका(६ स्थित कोशी लोकमार्गमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो । दिउँसोको समयमा भएको यस दुर्घटनामा घटनास्थलमै एक जनाको मृत्यु भएको हो भने दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन् ।
मृत्यु हुनेमा बस चालक सुनसरी धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका-११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेका छन् । प्रहरीका अनुसार राईको मृत्यु घटनास्थलमै भएको थियो भने तामाङ र श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि धरान पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको जनाएको छ ।