गर्मी बढेपछि चितवनलगायत देशभर नै रगतको अभाव भएको छ । चर्को गर्मीले स्वयम्सेवी दाताहरुले रक्तदान गर्न हिच्किचाउने कारण रगत संकलनमा गिरावट आएको छ । चितवनमा अस्पतालको संख्या वृद्धि भएसँगै बिरामीको चाप पनि बढिरहेको छ । चितवनमा औसत दैनिक १६० पाउण्ड रगत चाहिन्छ । यहाँ नवलपरासी, नवलपुर, मकवानपुर, तनहुँ, गोर्खा, धादिङ, नुवाकोटलगायत करिब १५ जिल्लाका बिरामीहरु उपचार गर्न आउने गर्दछन् । चितवनमा थेग्नेभन्दा बढी अस्पताल शैय्या छ, ती अस्पतालमा रगतको माग उच्च रहेकोले जगेडा हुन सकिरहेको छैन । चितवनमा दुईवटा ठूला शिक्षण अस्पताल छन् । यस्तै सरकारी स्वामित्वको भरतपुर अस्पताल, बकुलहर–रत्ननगर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन सामुदायिक अस्पताल छन् । यी विभिन्न अस्पतालमा गरी तीन हजार बढी शैय्या क्षमता रहेको छ ।
नयाँ वर्षसँगै तापक्रम बढ्दै गएपछि रक्तदान गर्नेहरुको संख्या पनि घट्ने गरेको छ । गर्मी बढेसँगै स्वतःस्फूर्त रक्तदान गर्ने दाता तथा आयोजकसमेत घटेको पाइएको छ । रगतको अभाव हुँदा गर्भवती महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी र दुर्घटनाका घाइतेको उपचारका लागि समस्या पर्ने गरेको छ । प्रायः अस्पतालमा रक्त सञ्चार केन्द्रबाटै रगतको आपूर्ति हुँदै आएको छ । भरतपुर रक्त सञ्चार केन्द्रबाट नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताललगायतमा पनि रगत आपूर्ति हुँदै आएको छ । चितवनमा पछिल्लो समय राजनीतिक दल, बचत सहकारी तथा विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव तथा साधारण सभामा रक्तदान गर्ने परिपाटी सुरू गरेका छन्, यो सकारात्मक पक्ष हो । तर चितवनमा बढी खपत हुने कारण रगतको सधैँ अभाव हुने गरेको पाइन्छ ।
चितवनमा रक्तदान गर्नुपर्छ भन्ने चेतनामा वृद्धि भएको दुई दशक भइसकेको छ । रगतको अभावलाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरुले वार्षिकोत्सव तथा कार्यक्रमहरुमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् । यो ज्यादै सरहानीय काम हो । मानवसेवा र परोपकारी कार्यमा सम्मिलित हुनु सामाजिक संघसंस्थाहरुको दायित्व पनि हो । यतिखेर दैनिकरुपमा रगतको बढ्दो माग आपूर्ति हुन सक्दा समस्या भइरहेको छ । रगतको अभाव हुनासाथ सरोकारवाला निकायले रक्तदान गर्न प्रेरित गर्नुपर्छ । सार्वजनिक हितका निम्ति रगतको बढ्दो प्रयोग हुने अस्पतालले पनि बेलाबखतमा रक्तदान कार्यक्रम राख्नुपर्छ । रगत दिएर कोही मर्दैन, बरु नपाएर मरिन्छ भन्ने भनाइलाई आत्मसात् गर्दै हरेक स्वस्थ व्यक्तिले स्वतःस्फूर्त रुपमा रक्तदान गरी जीवनदान दिनु आवश्यक देखिन्छ ।