काठमाडौं / पाकिस्तानमा बुधबार बिहान भएको भारतीय हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । मृतकमध्ये एकजना ७ वर्षीय बालकसमेत छन् । आक्रमणपछि पाकिस्तानमा शोक र आक्रोशको वातावरण छ ।
बुधबार साँझ प्रधानमन्त्री सेहबाज सरिफले देशवासीलाई सम्बोधन गर्दै भारतले ‘गम्भीर गल्ती’ गरेको भन्दै त्यसको परिणाम चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले सीमा क्षेत्रमा लडाइँका लागि पाकिस्तान पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
सरिफले भारतले आफ्ना लडाकु विमान खसालेको कुरो अस्वीकार गरे पनि पाकिस्तानी सेनाले त्यसको पुष्टि गरिसकेको दाबी गर्दै सम्पूर्ण नागरिकलाई ‘देशको जितका लागि एकताबद्ध भएर उत्साह देखाउन’ आग्रह गरे ।
युद्धको सम्भावना तीव्र हुँदै गएको परिवेशमा पाकिस्तानको स्वास्थ्य मन्त्रालयले आकस्मिक विज्ञप्ति जारी गर्दै चिकित्सक, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मीलाई बिदा नदिन निर्देशन दिएको छ । सम्भावित आकस्मिक अवस्थालाई मध्यनजर गर्दै सबैलाई तयारी अवस्थामा रहन आदेश दिइएको छ ।
भारत–पाकिस्तानबीचको यो पछिल्लो सैन्य तनाव दशकौंपछिको सबैभन्दा गम्भीर मुठभेड मानिएको छ । आक्रमणको पृष्ठभूमिमा केही हप्ता अघि कश्मीरमा आतंककारी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको थियो, जसपछि भारतले कडा प्रतिक्रिया स्वरूप कारबाही थालेको हो ।