२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारत–पाक द्वन्द्व असर : लम्बियो उडान समय, घटे पर्यटक

प्रकाशित मिति : २०८२ बैशाख २७ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावले नेपाल भित्रिने तथा बाहिरिने अन्तर्राष्ट्रिय उडानहरूमा असर पर्न थालेको छ। विशेषतः मध्यपूर्व र युरोपबाट काठमाडौं आउने जहाजहरू अब एक घण्टासम्म ढिलो भइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भारत–पाकिस्तानबीच गत बुधबार (वैशाख २४) देखि सुरु भएको तनावका कारण उडान मार्ग परिवर्तन गर्नुपरेको हो । यसले नेपाल आउने–जाने जहाजहरूको नियमित तालिकामा अवरोध पुर्‍याएको छ ।

- ADVERTISEMENT -

Advertisement

महाप्रबन्धक प्रतापबाबु निरौलाका अनुसार पाकिस्तानको हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध लागेपछि जहाजहरूले वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । ‘पहिले जहाजहरू पाकिस्तान हुँदै छोटो दूरीमा भारतको दिल्लीमार्ग भएर नेपाल आइरहेका थिए,’ उनले भने, ‘तर अहिले ती जहाजहरू कतार, दुबई, ओमन हुँदै अरब सागर पार गरेर मुम्बई भएर नेपाल आउन बाध्य छन् ।’

यस्तो मार्ग परिवर्तनका कारण कतार एयरवेज, फ्लाई दुबई, एयर अरेबिया, जजिरा र कुवेत एयरवेजजस्ता मध्यपूर्वका करिब १५ जहाजको उडानमा एक घण्टासम्मको ढिलाइ भइरहेको छ । नेपालबाट बाहिरिने उडानहरू पनि प्रभावित भएका छन् । महाप्रबन्धक निरौलाका अनुसार सिमरा हुँदै लखनऊ, मुम्बई मार्ग भएर जहाजहरू अरब सागरतर्फ मोडिन थालेका छन् ।

यद्यपि, हालसम्म हवाई भाडादरमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन । ‘अहिलेसम्म भाडामा असर परेको सूचना आएको छैन,’ निरौलाले भने, ‘तर यदि तनाव चर्कियो भने भविष्यमा यसको असर भाडादरसम्म पनि पर्न सक्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -