धूमपान तथा सुर्ती सेवन स्वास्थ्यका लागि हानिकारक रहेको तथ्य सबैलाई थाहा छ । धूमपान तथा सुर्ती सेवनकै असरका कारण नेपालमा २५ हजार व्यक्तिको अकालमै ज्यान जाने गरेको छ । धूमपानले बिस्तारै ज्यान लिन्छ भन्ने वास्तविकता बोध हुँदाहुँदै पनि कतिपय मानिसले यसैलाई अँगालिरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको करिब एकतिहाइ अर्थात् ९० लाख व्यक्तिले सुर्ती सेवन गर्छन् । नेपालमा हालैमात्र विश्व धूमपान रहित दिवस मनाइएको छ । यो दिवस मनाइँदा केही संघसंस्था तथा स्वास्थ्य संस्थाले कर्मकाण्डलाई निरन्तरता दिएजस्तो मात्र बन्न पुगेको छ । किनभने, धूमपान तथा सुर्ती सेवनले भयावह स्थिति निम्त्याउँदै गर्दा र यसकै व्यसनका कारण बर्सेनि २५ हजारको ज्यान गुमिरहँदा राज्यले धूमपान तथा सुर्तीसेवन न्यूनीकरण गर्ने खालका कुनै पनि कार्यक्रम कार्यान्वयन गर्न सकेको छैन । सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लागू ग¥यो । ऐनमा शिक्षण संघसंस्था, होटल–रेष्टुरेन्ट, भोजनालय, चमेनागृह, छात्रावास, प्रतीक्षालय, शौचालय, टिकट काउन्टर, मठमन्दिरजस्ता सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नपाइने कानुनी व्यवस्था छ । कानुन बने पनि कार्यान्वयन नहुने समस्या कारण सरकारका अधिकांश कार्यक्रमहरु निरर्थक बन्ने गरेका छन् ।
अहिले हरेक घरघरमा सुर्तीसेवन गर्ने व्यक्ति छन् । सुर्तीजन्य पदार्थको उपयोगमा युवाको आकर्षण झनै बढ्दो छ । जतिसुकै सचेतनाका कुरा गरिए पनि अहिले स्कुल तथा कलेजका विद्यार्थीमा धूमपानको व्यसन बढिरहेको छ । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभई सामाजिक एवम् आर्थिक क्षति हुने गरेको छ । हामीले हरेक वर्ष धूमपान रहित दिवस मनाउँदै गर्दा जनतामा के प्रभाव प¥यो ? विगतका वर्षहरुमा धूमपानविरुद्धका अभियान कति सार्थक भए ? भन्ने सन्दर्भमा बहस गर्नु उत्तिकै आवश्यक भइसकेको छ । धूमपान र सुर्ती सेवन स्वास्थ्यका लागि घातक छ, यसले विभिन्न किसिमका स्वास्थ्य समस्या सृजना गर्छ भन्ने कुरा जान्दाजान्दै मानिसहरु आफ्नो स्वास्थ्यमाथि हेलचेक्र्याइँ गरिरहेका छन् । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कानुन बनेको १५ वर्ष बितिसकेको छ । तर, अहिलेसम्म सार्वजनिक स्थलमा धूमपान गर्न रोकिएको छैन । धूमपान गर्नेहरुको संख्या बर्सेनि वृद्धि भएसँगै कलिलै उमेरमा मुटुरोगलगायत हृदयाघातको जोखिम पनि उत्तिकै बढाएको छ ।
- ADVERTISEMENT -

मुटुरोग विशेषहरुले धूमपानकै कारण मुटु रोगीको संख्या बर्सेनि बढ्दै गएको जनाएका छन् । युवापुस्ताले देखासिकी र फेसनका रुपमा धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ । फेसन बिस्तारै लतमा परिणत हुन्छ । धूमपानले सुरूवातमै स्वास्थ्यसम्बन्धी लक्षण नदेखिए पनि अन्तिम अवस्थामा यसको असर भयावह हुन्छ । धूमपानले विशेषगरी हृदयाघात निम्त्याउने गर्दछ । हृदयाघातका कारण अकाल मृत्युबाट बच्न धूमपान त्याग्नुको विकल्प छैन । पहिले ४० वर्ष कटेपछिमात्रै हृदयाघात हुने गरे पनि पछिल्लो समय २५ वर्षका युवामा समेत हृदयाघात देखिनु धूमपानकै असरले गर्दा भएको विज्ञहरुले औँल्याएका छन् । धूमपानकै असरका कारण उच्च रक्तचाप, कोलस्ट्रोल, मृर्गौला रोग, विभिन्न अंगको क्यान्सर, मधुमेह, मानसिक रोग, महिलाको प्रजनन शक्तिमा ह्रास, टिबी, दमजस्ता समस्या पनि निम्त्याउने गरेको पाइन्छ । धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा मस्तिष्कघातको सम्भावना पनि चार गुणासम्म बढी हुने चिकित्सकको भनाइ छ । धूमपानले अमूल्य मानव जीवनलाई हानि पु¥याइरहँदा अझै पनि बेवास्ता गर्दै जाने हो भने यसले विकराल रुप लिनेमा कुनै शंका छैन । गम्भीर प्रकृतिका रोग लागेपछि पछुताउनुभन्दा अर्को विकल्प रहँदैन । त्यसैले, समय छँदै रोग निम्त्याउने कारक धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढा रहनु सबैको हित हुने देखिन्छ ।


















































