२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

ग्राजस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको मृत्यु

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते

काठमाडौं / अस्ट्रियाको दोस्रो ठूलो सहर ग्राजस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा एक पूर्वविद्यार्थीले १० जनाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । देशको इतिहासकै सबैभन्दा भयावह मानिएको यस घटनामा आक्रमणकारीसहित ११ जनाको मृत्यु भएको हो ।

स्थानीय समयअनुसार बिहान करिब १० बजे बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा प्रवेश गरेका २१ वर्षीय आर्टुर ए. नामक युवकले अन्धाधुन्ध गोली चलाएका थिए । सटगन र पेस्तोल बोकेर दुईवटा कक्षाकोठामा प्रवेश गरेका उनले ९ जनाको घटनास्थलमै हत्या गरेका थिए भने कैयौँलाई घाइते बनाएका थिए । घाइतेमध्ये एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

घटनालगत्तै ३०० भन्दा बढी प्रहरी र आपत्कालीन स्वास्थ्यकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको थियो । आक्रमणकारी युवक पछि विद्यालयको शौचालयमा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले उनको शवसँगै दुईवटा हतियार र आफ्ना अभिभावकलाई ‘अलविदा’ लेखिएको एउटा पत्र पनि फेला पारेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा उनी एक्लै संलग्न रहेको देखाएको छ, यद्यपि आक्रमणको उद्देश्य भने अझै खुलिसकेको छैन । स्थानीय सञ्चारमाध्यमले भने विद्यालयमा अध्ययन गर्दा उनीमाथि निरन्तर दुर्व्यवहार र अपमान हुने गरेको उल्लेख गरेका छन् ।

यस घटनालाई ‘इतिहासकै कालो दिन’ भन्दै अस्ट्रियाका चान्स्लर क्रिश्चियन स्टकरले बुधबारदेखि देशभर तीनदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसहित विश्वका विभिन्न नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -