काठमाडौं / वर्षौंदेखि ‘ज्वालादेवी’को शक्तिपीठका रूपमा परिचित दैलेखको भूमिले अब नेपालको आर्थिक भविष्यलाई नै उज्यालो बनाउने संकेत दिएको छ । चिनियाँ विज्ञ टोलीले गरेको लामो र गहिरो अन्वेषणपछि दैलेखमा नेपाललाई करिब ५० वर्षसम्म पुग्ने विशाल प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि भएको हो ।
दैलेखमा १ सय १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएसँगै शुक्रबार यो विषय सरकार र राजनीतिक दलहरूबीच दिनभर चर्चाको केन्द्र बन्यो । सुखद संयोग नै मान्नुपर्छ, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संक्रमणकालीन न्यायजस्तो गम्भीर विषयमा छलफल गर्न बसेका सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूले दलगत मतभेदलाई बिर्सेर यो राष्ट्रिय खुसी साटासाट गरे ।
- ADVERTISEMENT -

बैठकको सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीले यो सुखद खबर सुनाउँदै यसलाई देशकै लागि गौरवको क्षणको संज्ञा दिए । ‘दैलेखमा ग्यास र पेट्रोलियम पदार्थको खानी भेटिनु मुलुकका लागि ठूलो खुसीको कुरा हो । यो सफलता जुनसुकै सरकारको पालामा सुरु भए पनि यसले राष्ट्रलाई नै फाइदा पुग्नेछ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका मानवअधिकार सल्लाहकार अग्नि खरेलले भने, ‘यो मुलुकका लागि खुसीको कुरा हो र हामी सबैले खुसी साट्नुपर्छ ।’
प्रधानमन्त्रीको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समर्थन गर्दै यो राष्ट्रिय उत्सवको विषय भएको बताए । माओवादी अध्यक्ष प्रचण्डले गत जेठमा मध्यपहाडी राजमार्गमा पार्टीको अभियानका क्रममा उक्त खानी क्षेत्रको अवलोकन गरेको स्मरण गर्दै आफ्नो नेतृत्वको सरकारकै पालामा अन्वेषण सुरु भएको दाबीसमेत गरेका थिए ।
यसरी भयो पुष्टि
खानी तथा भूगर्भ विभागका अनुसार, चिनियाँ सरकारको ‘चाइना जिओलोजिकल सर्भे’ले गरेको विस्तृत भौगर्भिक अध्ययन र चीनकै प्रतिष्ठित कम्पनी ‘सीएनपीसी सीबु इन्जिनियरिङ’ले गरेको ड्रिलिङपछि यो सफलता मिलेको हो । दैलेखको भैरवी गाउँपालिका(१, जलजले क्षेत्रमा गरिएको अन्वेषणले ठूलो परिमाणमा मिथेन ग्यास रहेको प्रारम्भिक नतिजा देखाएको छ ।
विभागले अब परीक्षण उत्पादन (Test Production) को तयारी थालेको छ, जसबाट ग्यासको वास्तविक मात्रा, गुणस्तर र व्यावसायिक उत्पादनको सम्भावना यकिन हुनेछ । यससम्बन्धी विस्तृत र अन्तिम प्रतिवेदन आगामी डिसेम्बरसम्ममा प्राप्त हुने विभागले जनाएको छ ।
यो खोजले नेपालको व्यापार घाटा कम गर्न, परम्परागत ऊर्जामाथिको परनिर्भरता घटाउन र ऊर्जामा आत्मनिर्भर बन्दै समृद्धिको नयाँ ढोका खोल्न सक्ने बलियो आधार प्रस्तुत गरेको छ । यो खोजले मुलुकको ऊर्जा सुरक्षा र आर्थिक समृद्धिमा ऐतिहासिक फड्को मार्ने सम्भावना देखाएसँगै राजनीतिक वृत्तमा खुसीको लहर छाएको छ ।