२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

इरान र इजरायलबीच ‘पूर्ण युद्धविराम’मा सहमति भएको ट्रम्पको नाटकीय घोषणा

प्रकाशित मिति : २०८२ असार १० गते
File photo.

काठमाडौं / पश्चिम एसियामा युद्धको कालो बादल मडारिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटकीय घोषणा गरेका छन् । उनले इरान र इजरायलबीच ‘पूर्ण र समग्र युद्धविराम’ का लागि सहमति जुटेको र त्यो केही घण्टामै कार्यान्वयनमा आउने दाबी गरेका हुन् ।

यद्यपि, यो संवेदनशील घोषणाको इरान वा इजरायल दुवै पक्षबाट स्वतन्त्र पुष्टि हुन सकेको छैन, जसले स्थितिलाई थप रहस्यमय र अनिश्चित बनाएको छ । ह्वाइटहाउसबाट जारी सन्देशमा राष्ट्रपति ट्रम्पले दुवै देशले आफ्ना सैन्य कारबाहीहरू अन्त्य गर्ने प्रक्रिया थालिसकेको र अबको केही घण्टाभित्रै युद्धविराम पूर्ण रूपमा लागू हुने बताएका छन् । उनले यो द्वन्द्वलाई ‘१२ दिने युद्ध’ को संज्ञा दिँदै भने, ‘यो युद्ध वर्षौंसम्म चल्न सक्ने र सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने थियो, तर त्यसो भएन र अब कहिल्यै हुनेछैन ।’

- ADVERTISEMENT -

Advertisement

घोषणामाथि शंका र विरोधाभास
ट्रम्पको एकपक्षीय घोषणालाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक हेरिरहेको छ । बीबीसीका संवाददाताहरूका अनुसार, ट्रम्पको दाबीप्रति इरान र इजरायलको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ र युद्धविराम साँच्चै लागू हुन्छ वा हुँदैन भन्नेमा कुनै निश्चितता छैन ।

यो अन्योललाई थप बढाउँदै इजरायली रक्षा बलले तेहरानका विभिन्न जिल्लालाई लक्षित गरी हमला हुन सक्ने चेतावनीसहित सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सूचना जारी गरेको छ । एकातिर युद्धविरामको घोषणा र अर्कोतिर हमलाको चेतावनीले स्थितिको गम्भीरता र जटिलतालाई उजागर गरेको छ ।

कतारी मध्यस्थताको चर्चा
अमेरिकी सञ्चारमाध्यमहरूले नाम उल्लेख नगरिएका अधिकारीहरूलाई उद्धृत गर्दै यो युद्धविराम सहमतिमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले महत्त्वपूर्ण मध्यस्थताको भूमिका खेलेको जनाएका छन् ।
यसैबीच, इरानले ट्रम्पको घोषणाप्रति तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । इरानका सरकारी सञ्चारमाध्यमहरूले यसलाई केवल ‘ट्रम्पको दाबी’ भनेर प्रसारण गरेका छन् ।

यो घटनाक्रम इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेपछि विकसित भएको हो । इरानले उक्त हमला आफ्नो परमाणु केन्द्रमा भएको आक्रमणको बदला भएको बताएको थियो । राष्ट्रपति ट्रम्पले इरानको सो हमलालाई ‘एकदमै कमजोर’ भन्दै त्यसमा कुनै अमेरिकी वा कतारी नागरिकको क्षति नभएको बताएका थिए ।

उनले हमला हुनुअघि नै ‘जानकारी दिएकोमा’ इरानलाई धन्यवादसमेत दिए । अहिले विश्वको ध्यान तेहरान र जेरुसेलममा केन्द्रित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -